महोत्तरीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, दाईजोकै कारण हत्या गरेको आरोप


जनकपुरधाम । महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका ५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत असोज १८ गते बिहान श्रीमानले उनलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी उनको असोज २० गते जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । २५ गते बिहान ११ बजे उनको उपचारका क्रममा ज्यान गएको हो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

अचेत अवस्थामै जनकपुर सुरक्षा अस्पताल ल्याइएकोमा विरामीको सिटी स्क्यान गर्दा ब्रेनमा रगत जमेको र स्वास प्रस्वासमा समस्या देखिएको अस्पतालका चिकित्सक डा।सरोज ठाकुरले जानकारी दिए ।

प्रहरीले बिमलेश यादव विरुद्ध सुरूमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । कविताको मृत्यु पछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सरोज राईले बताए । आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो ।

माईतीपक्षले मृतकको अन्त्येष्टी गरेको छ । जनकपुर स्थित स्वर्गद्वारमा बुधवार अपरान्ह मृतकको अन्त्येष्टी गरिएको हो । माईतीपक्षले दाईजोको कारण हत्या गरिएको आरोप लगाएको छ ।

प्रकाशित : २०७९ आश्विन २७, बिहीबार ०९:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ