सिरहाः कला क्षेत्रमा चर्चा कमाएका मुरलीधर र ज्ञानु चुनावी मैदानमा


सिरहा । मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि सिरहाका दुई चर्चित कलाकार उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट सिरहा क्षेत्र नम्वर २ मा मुरलीधर मिझार र प्रदेशसभा सदस्यका लागि जनमत पार्टीबाट सिरहा क्षेत्र नम्वर ३ (ख)मा ज्ञानु यादव चुनावी मैदानमा उत्रेका हुन् ।

मुरलीधर कला क्षेत्रमा नेपाल र भारतमा चर्चा कमाएका व्यक्ति हुन् । ‘उडायो सपना सबै हुरीले…’ यो गीत नसुन्ने सायदै कोही नेपाली होला । यो गित गाउने उनी नै हुन् । शब्द र संगीत पनि उनकै छ । उनको ‘चिसो चिसो सिरेटोमा…’ पनि कम लोकप्रिय छैन ।

‘इतनी शक्ति हमे देना दाता…’ भन्ने मुरलीधरको गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ । नेपाली र हिन्दी मात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा उनले सयौं कर्णप्रिय गीत गायका छन् ।

घगडान अभिनेता मुरलीधर, फिल्म लेख्छन्, निर्देशन गर्छन्, गीत गाउँछन् र कम्पोज पनि गर्छन् । कलाका क्षेत्रमा उनी प्रतिभाका धनी मानिन्छन् । कलाका प्रायः पाटोमा उनी पोख्त छन् । तर कला क्षेत्रबाट बिट मार्दै उनी राजनीतिमा आएका हुन् । लामो समय भारतको मुम्बईमा बिताएका उनी अहिले ग्रामिण भेगमा धुलो खादै भोट माग्न ब्यस्त देखिन्छन् ।

कला क्षेत्र उनका लागि जति सजिलो छ, त्यति सजिलो राजनीति नहुने देखिन्छ । केहि दिनअगाडी मात्र राजेन्द्र लिङ्गदेनबाट टिका थापेर राप्रपा प्रवेश गरेका थिए मुरलीधर । लामो समय पार्टीमा काम गर्दा पनि टिकट पाएका छैनन् धेरै नेता । तर पार्टी प्रवेश गरेको धेरै दिन नभएपनि उनी टिकट त पाए, चुनाव जित्न भने बडो कठिन देखिएको छ ।

दुई पूर्वमन्त्री भिडेको क्षेत्र हो सिरहा २ । सत्ता गठबन्धनबाट काँग्रेसकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट राजकिशार यादव चुनावी मैदानमा आमने सामने छन् । उनी दुवै जना प्रभावशाली नेता मानिन्छन् । तर यही निर्वाचन क्षेत्रमा मुरलीधर पनि उम्मेदवार छन् ।

चित्रलेखा र राजकिशोर मध्ये कोही कसैभन्दा कम छैन । उनीहरुको पार्टीको संगठन पनि मजबुत छन् । निश्चित रुपले उनी दुबैजना चुनाव जित्न अनेक हतकन्डा अपनाउँछन् । मुरलीधर चुनाव लडेको पार्टी राप्रपाको न संगठन अब्बल छ, न उनी जनतामा भिजेका छन् । यो हिसावले मुरलीधरलाई चुनाव जित्न ठूलो चुनौती छ ।

सिरहा क्षेत्र नम्वर ३ (ख)बाट चुनाव लडेका ज्ञानु यूवा गायक हुन् । उनी सयौं मैथिली गितमा आवाज भरेका छन् । हजारौं स्टेज कार्यक्रम गरेर मधेसमा चर्चा कमाएका छन् । तर उनी राजनीतिमा होमिएका छन् ।

उनी भन्छन्, ‘मधेसको विकास मात्र डा. सीके राउतले गर्न सक्छन् भन्ने मलाई लाग्छ । त्यसैले उनकै पार्टीको सदस्यता लिए र अहिले चुनावी मैदानमा उत्रेको छु ।’ उनी चुनाव जित्ने दावी पनि गर्छन् ।

‘सबै नेता स्वार्थमा डुबेका छन्’, उनले भने, ‘अहिले मतदाता कुनै नेतामाथि विश्वास गरिरहेका छैन । यूवाहरु त नेताको नाम लिन चाहिरेका छैन । त्यसैले यो पटक जनमत पार्टी र मलाई विजय गराउँछ भन्ने विश्वास छ ।’ आफूलाई नजिताए पनि जनमत पार्टी र डा. सीके राउतलाई जित्नुपर्ने उनको भनाई छ ।

प्रकाशित : २०७९ आश्विन ३१, सोमबार ०९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ