सर्लाहीमा बस दुर्घटना- २२ जना यात्रु घाइते


सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके चोकमा आज बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट भैरहवाका लागि छुटेको बा ४ ख ३३७८ नम्बरको बस सोमबार बिहान ३ बजेतिर पूर्व–पश्चिम राजमार्गबाट श्रीनगरतर्फ जाने बाँके चोक नजिकै दुर्घटनामा परेको हो । बस अनियन्त्रित भइ सडको छेउमा पल्टिंदा घाइते भएका यात्रुको लालबन्दी र बयलबासमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज बयलबासले जनाएको छ ।

घाइते मध्ये बसका सह–चालक झापाको मेचिनगर नगरपालिका–७, बस्ने २१ वर्षीय प्रदीप पुरीको अवस्था भने गम्भीर रहेको छ । पुरीलाई लालबन्दीमा सामान्य उपचार पश्चात थप उपचारका लागि झापातर्फ नै रिफर गरिएको छ ।

अन्य घाइतेको अवस्था सामान्य रहेको र उपचार पश्चात धमाधम डिस्चार्ज भइरहेको केशरगञ्जका प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो । दुर्घटनापछि बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा चालक निदाएका कारण बस दुर्घटनामा परेको देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ आश्विन ३१, सोमबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ