१ अर्ब लागतमा नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाइने


काठमाडौं । चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाइने भएको छ । सडक विभाग अन्तरगतको पुल महाशाखाले पूर्वपश्चिम राजमार्गमा पुल बनाउन टेन्डर आव्हान गरेको हो ।

विभागले नेपाली निर्माण व्यवसायीसँग डिजाइन एन्ड विल्ड विधीमा निर्माण गर्ने गरी प्रस्ताव माग गरेको छ । ठेक्का पाउनेले निर्माण व्यवसायीले पुलको डिजाइन र निर्माण आफैँ गर्नुपर्ने छ ।

सरकारले नेपाल सरकारको आफ्नै लगानीमा पुल निर्माण गर्न लागेको छ । विभाग अन्तरगतको पुल महाशाखाले अहिले भएकै पुल छेउमै नयाँ पुल बनाउने प्रस्ताव गरेको छ ।

१ अर्ब बढी लागतमा अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल बनाइने छ । पुलको डिजाइन अनुसार लागत घटबढ हुने महाशाखाले जनाएको छ ।

सरकारले पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गरिरहेको छ । जसअन्तरगर्त नारायणगढ बुटवल खण्डमा सडक विस्तार भैरहेको छ। २०७५ चैतमा सिलान्यास भएको सडक निर्माण भैरहेको छ ।

१७ अर्ब लागतमा सडक विस्तार भैरहेको हो। सडक ४ लेनको बनिरहँदा पुल २ लेनको मात्रै रहने भएकाले नयाँ पुल निर्माण गर्न लागिएको महाशाखाले जनाएको छ। भरतपुर पूर्वको राजमार्ग पनि विस्तार हुने चरणमा रहेको छ।

महाशाखाका अधिकारीका अनुसार पुलको डिजाइन ठेकेदार आफैँले ६ महिनाभित्र निर्माण गरिसक्ने र ३ वर्षभित्र पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। नयाँ बन्ने पुलको लम्बाई ४२० मिटरको हुने छ । हाल सञ्चालनमा रहेको पुल २०३८ सालदेखि सञ्चालनमा रहेको छ।

पुल २ लेनको हुने छ। नयाँ बन्ने पुलले पनि ट्राफिक चाप धान्न नसके २ लेनको अर्को पुल बनाउन सकिने महाशाखाले जनाएको छ । पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने बताइएको छ ।

प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार ०९:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ