आज विवाह पञ्चमी : जनकपुरमा सीता–राम विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी हुने


किसन साह, जनकपुरधाम । आज मार्गशीर्ष शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी । आजकै दिन त्रेतायुगमा अयोध्याका राजकुमार भगवान राम र जनकपुरकी राजकुमारी माता सीताको विवाह भएको मानिन्छ । सोही पौराणिक मान्यताका आभारमा जनकपुरधाममा धुमधामसंग विवाह पञ्चमी मनाइदैछ ।

जनकपुरधाममा आजको दिनलाई विशेष दिनका रुपमा मनाइन्छ । आज जनकपुरधाममा भगवान राम र सीताको विवाह महोत्सव आयोजना गरिन्छ । रामायण कथामा वर्णन गरिए अनुसार त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई चेलीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभायात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरु समेत सहभागी हुने गर्छन् ।

जानकी मन्दिर परिसरमा आज साँझ आयोजना गरिने सीता–राम विवाह समारोहमा सहभागी हुन नेपाल र भारतका लाखौं श्रद्धालु आइपुगेका छन् । उनीहरुको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : २०७९ मंसिर १२, सोमबार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ