तिहार शुरु भएपछि बजार अनुगमन, मिठाईमा भेटियो किरा


जनकपुरधाम, ९ कार्तिक। जिल्ला प्रशासन कार्यालय धनुषाले चाड पर्वलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरेको छ । तिहार शुरु भइसकेपछि बल्ल निकाय बजार अनुगमन गर्न जुर्मुराएको हो ।

कार्यालयले नेपालीहरुको महान चाड दीपावली र छठ पर्वलाई लक्षित गर्दै खाद्यान्न, मिठाई, ध्यु तेल, लत्ता कपडा एवं स्टील उद्योगहरुमा शुक्रबार अनुगमन गरेको हो ।

जनकपुर क्षेत्रका आधा दर्जन पसल तथा उद्योगहरुमा अनुगमन भएको छ । विशेष गरेर चाडवाडको अवसरमा अखाद्य वस्तु विक्री हुने, अधिकतम मुल्य भन्दा बढी मुल्य लिने र राजस्व नतिरी समान विक्री गर्ने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै कार्यालयले बजार अनुगमन गरेको हो ।

जनकपुरधाम उपमहनगरपालिका १९ बेंगा शिवपुरमा चन्द्रदेव यादवले सञ्चालन गरेको कृष्णा मेटल उद्योगमा निकै कमजोरी फेला परेको जिल्ला प्रशासन कार्यालय धनुषाका अधिकृत गणेश मिश्राले जनाए । अधिकृत मिश्राको अनुसार उद्योग सञ्चालन गर्ने कुनै पनि अनुमति पत्र देखाउन सकेनन् । राजस्व तिरेको भर्पाई, भ्याट प्लेट, कामदारको लागि सुरक्षा उपकरण, स्टोक बुक लगायतको कागजात उक्त उद्योगले देखाउन सकेका थिएनन् । ‘तीन दिन भित्र सबै कागजात लिएर कार्यालयमा सम्पर्क गर्न भनेको छु,’उनले भने,‘समयमा कार्यालयमा सम्पर्क गरेनन् भने कारवाही प्रकृया अगाडी बढाउँछु ।’

त्यस्तै जनकपुरको मिल्स एरियामा मधुकुमारी साहले सञ्चालन गरेको महा लक्ष्मी मेटल इण्डिष्ट्रीमा व्यवस्थापन पक्ष कमजोर देखिए पनि कागजी प्रकृया पुरा रहेको पाइएको छ । अधिकृत मिश्राले व्यवस्थापन पक्ष सुधार गरी उद्योग सञ्चालन गर्न निर्देशन समेत दिएको छ । जनकपुरकै भानु चौकमा सुर्य नारायण यादवले सञ्चालन गरेको रानी स्वीट कर्नर एण्ड दुध डेरी उद्योगमा पनि केही कमजोरी पाइएको थियो । बिना मूल्य, म्याद नाघेको लगायतका समानहरु पाइएको थियो ।

त्यस्तै, जनकपुरको कदम चोकमा सिरिस स्वीटस एण्ड रेष्टुरेण्टमा किचेन भद्रगोल र खुल्ला अकासमुनी रहेको पाइएको छ ।

मिठाईमा किरा

सिरिस स्वीटस एण्ड रेष्टुरेण्टले भद्रगोल किचेनमा खुल्ला आकाशमुनी खाद्यान्न एव मिठाइहरु पकाउँदै थियो । अर्को तर्फ तयार पारेर राखेको मिठाइमा किरा पाइएको थियो । किचिने वरिपरी फोहर मैला जताततै देखिन्थ्यो । साथै पसलले मिठाइ एवं लड्डुमा गुणस्तरहीन घीउ प्रयोग गरेको पाइएको हो । गुणस्तरहिन घीउको बारेमा आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएर सञ्चालक पञ्छिएका थिए । – आजको जनकपुर टुडेमा यो खबर छपिएको छ ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०४:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ