नवराजपुर गाउँपालिका किसानको आयस्तर बढाउने योजनाहरु ल्याउँदै


जयनाथ यादव, सिरहा । सिरहाको नवराजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकिशोर साहले कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य लगायतका कार्यक्रमको संचालन र कृषि उद्यमशीलता विकास गरी गाउँपालिकाका कृषकहरुको आयस्तर बृद्धी गर्नेगरी काम गरिरहेको बताएका छन् ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=13s

नवराजपुर गाउँपालिका मुख्य रुपले कृषिमा निर्भर पालिका भएकोले नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारीहरु यस पालिकाका कृषि क्षेत्र कसरी उन्नत बनाउन सकिन्छ भन्ने तर्फ अग्रसर रहेको प्रमुख प्रशासकिय अधिकृत साहले बताए । कृषिमा आधुनिकिकरणमा जोड दिएको उनको भनाई छ ।

‘हाल यस पालिका भित्रका सम्पुर्ण कृषकहरुलाई कृषि मिटर बापतका महशुल निःशुल्क उपलब्ध गराउने कार्यक्रम संचालनमा ल्याएका छौं’, उनले भने, ‘यसले किसानलाई सिंचाईका सुविधा निःशुल्क रुपमा उपलब्ध हुनेछ । जसका कारण कृषि क्षेत्र फस्टाउने अपेक्षा रहेको छ ।’

मुख्यगरी तरकारी खेती गर्ने कृषकहरुका लागी वडा कार्यालय मार्फत निःशुल्क रुपमा मुला, काउली, धनियाँ आदिका तरकारी विऊहरु वितरण गरिरहेका पनि उनले सुनाए । उनले पशुपालन गर्ने किसानलाई जौं घाँसको विऊ समेत वितरण गरिरहेको बताए । उनले भने, ‘अहिले गहुँ खेतीको सिजन छ । त्यसैले ५० प्रतिशत अनुदानमा गहुँको विऊ वडा कार्यालय मार्फत किसानहरुलाई उपलब्ध गराइएको छ ।’

वडा नम्बर ५ अन्तर्गत उँखु खेतीतर्फ आग्रसर रहेको मुख्य गरी उँखु उत्पादन गर्ने किसानहरुको लागी स्यालो ट्यूवेल जडान गर्ने कार्यक्रम चाँडै ल्याउने गाउँपालिकाको तयारी छ । गाउँपालिका अन्तर्गतको कृषि क्षेत्रमा सुधार होस् भन्ने उदेश्यले कृषि क्षेत्रलाई अनुसन्धान गरेर उक्त क्षेत्रमा के कस्ता प्रयास गर्दा कृषि क्षेत्र फस्टाउन सक्छ ? यसका लागि एक जना कृषि स्नातक प्राविधिक छनोट प्रक्रिया समेत अगाडी बढाएको छ ।

उनका अनुसार कृषकसँग कृषि प्राविधिक भने कार्यक्रम पनि छिटै संचालनमा ल्याउछौं । जसबाट कृषि र पशु दुई किसिमको प्राविधिकहरु कृषकको खेतेबारीमा पुग्दा कृषिमा देखिएका समस्याहरु समाधान गर्न आवश्यक सरसल्लाह दिईनेछ । साथै पशुहरुमा देखापर्ने विभिन्न रोगको लागी आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराउने योजना छ ।

कृषि क्षेत्रमा आधुनिक र वैज्ञानिक तरिकाबाट किसानहरुले खेती गर्नका लागी कृषि शाखाबाट जैविक मल उत्पादन र आधुनिक कृषि खेती सम्बन्धी तालिम संचालन हुने प्रमुख प्रशासकीय अधिकृत साहको भनाई छ ।

https://www.youtube.com/watch?v=ztL5Qc-XPEg&t=3s

प्रकाशित : २०७९ मंसिर २८, बुधबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ