पेट्रोलियम र एलपी ग्यास पाइपलाइन अमलेखगन्जबाट चितवनसम्म विस्तार हुने


काठमाडौं, ९ कार्तिक । मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवनको लोथरसम्म विस्तार गरिने भएको छ। भारतको मोतिहारीदेखि चितवनसम्म एलपी ग्यास पाइपलाइन परियोजनाको सर्भे सुरु भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले शनिबार उक्त परियोजनाको सर्भे कार्यको थालनी गरेका हुन्।

पेट्रोलियम पदार्थको सहज आपूर्ति, ढुवानी तथा वितरणका लागि भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज डिपोसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आइसकेको छ। यसलाई थप विस्तार गर्दै निगमले अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरी भण्डारण क्षमतासमेत विस्तार गर्ने लक्ष्य लिएको छ।

त्यसैगरी एलपी ग्यासको सहज आयात, ढुवानी तथा भण्डारणका लागि भारतको मोतिहारीदेखि लोथरसम्म छुट्टै पाइपलाइन र लोथरमै भण्डारण केन्द्रसमेत बनाउने लक्ष्य लिई प्रारम्भिक चरणका कामहरु भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनले संयुक्त रुपमा सर्भे गर्नेछन्। अमेलखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन तथा भण्डारण केन्द्र निर्माणको लागत ९ अर्ब ८६ करोड र एलपी पाइपलाइन र भण्डारण केन्द्र निर्माणको लागत १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यद्यपि परियोजनाको लागत विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेपछि मात्रै यकिन हुने निगमले जनाएको छ।

अमलेखगन्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन ६२ किलोमिटर र नेपाल भारत बोर्डर वीरगन्जदेखि अमलेखगन्ज हुँदै चितवनसम्मको एलपी पाइपलाइन ९८ किलोमिटरको हुनेछ। पेट्रोलियम पाइपलाइनको क्षमता २ सय ९० किलोलिटर प्रतिघन्टा र एलपी पाइपलाइनको क्षमता १ सय टन प्रतिघन्टा रहने निगमले जनाएको छ।

चितवनको लोथरमा निर्माण हुने पेट्रोलियम पदार्थको भण्डारण केन्द्रको क्षमता १ लाख किलोलिटर तथा एलपी ग्यासको भण्डारण केन्द्रको क्षमता २० हजार मेट्रिकटन रहनेछ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०६:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ