भ्रष्टाचार र हत्या अभियुक्त गुरुङ र महतोले लिए सांसदको शपथ


काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यको रुपमा सपथ लिएका छन् ।

संसद सचिवालयका अनुसार दुवैजनाले बिहीबार ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराबाट शपथ लिएका हुन् । कानुनअनुसार गुरुङ स्वतः निलम्वनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबारको शपथमा उनी सहभागी भएका हुन् ।

त्यस्तै सशस्त्र प्रहरीका असई थमन बिक हत्या अभियोगमा महतो प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधिसभा सदस्यमा चुनिएका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग लागेका उनी पनि संसद् सदस्यमा चुनिएका हुन् ।

यसैगरी २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी–लेखेटी हत्या गरेको आरोपमा लक्ष्मी महतो कोइरी अहिले पनि फरार सूचीमा छन् । तर, निर्वाचनको मुखमा जसपा छाडेर एमाले प्रवेश गरेलगत्तै उनी महोत्तरी १ बाट ‘सूर्य चिह्नवाहक’ उम्मेदवार बनेका थिए ।

सिट बाँडफाँट गर्दा महोत्तरी–१ एमालेको भागमा परेपछि कोइरी एमाले नै प्रवेश गरेर चुनाव लडेका हुन् । गठबन्धनको सहयोगीका रूपमा जसपाको समेत समर्थनमा उनी विजयी भएका थिए ।

संविधान जारी हुनुअघि मधेसमा सुरु भएको आन्दोलनमा सुरक्षार्थ खटिएका विकको हत्या कोइरीकै योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । घटनापछि थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाको नाम किटेर जाहेरी दिएका थिए ।

जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता कानुनको नजरमा फरार उनी कानुन निर्माण गर्ने सभाको सदस्यमा निर्वाचित भएका हुन् ।

प्रकाशित : २०७९ पुष ७, बिहीबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ