आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह


काठमाडौं । आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिन यता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरुको सुझाव छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा।धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताए । उनले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा सितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरे ।

उनले अबका केही दिनमा चिसो अत्याधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगी, मुटुका रोगीहरुले बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताए । उनले पश्चिम बंगालमा सिर्जना भएको न्युन चापिय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको पनि बताए । उनले मर्निङ वाकमा सकेसम्म चिसोको बेलामा नजाने, सकेसम्म कोठामा नै योगाभ्यास गर्नुपर्ने बताए ।

उनले फोक्सोको क्यानसरदेखि श्वासप्रश्वासमा समस्या, मुटुका बिरामीहरुमा समस्या र बालबालिका र वृद्धवृद्धामा चिसोको असर बढी हुने बताउनु भयो । जलवायुविज्ञ उप्रेतीले जनवरी, फ्रेब्रुअरी र मार्चमा न्युनतम तापक्रम औसत भन्दा तल हुने र वर्षा पनि कम हुने बताए । उनले हिउँदामा वर्षा कम र चिसो बढी भएको खण्डमा यसको सबैभन्दा बढी असर वायुप्रदुषणमा पर्ने बताए ।

चिसो हावा तल आइरहेकाले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा लगभग सितलहरकै अवस्था रहन्छ । चिसो अझै बढ्नेछ । अरब सागरमा एक खालको न्युन चापीय अवस्था भयो, जसले हावाको आद्र्रतासहितको हावा बहेर उत्तरतिर धकेलिँदा त्यसले पनि तुँवालोको फर्मिसन गर्छ । पश्चिम बंगालमा केही समयअघि मात्रै एक खालको न्युन चापीय अवस्था सिर्जना भएको थियो । पश्चिमी वायुको प्रभाव परेका कारण पनि तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात अवस्था बढेको छ ।

प्रकाशित : २०७९ पुष १७, आईतवार १९:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ