रास्वपाबाट शिक्षामा शिशिर र श्रममा डोलप्रसाद लगभग तय, उपसभामुखमा सोविताको सम्भावना


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि आज पार्टीले नाम टुंग्याउने भएको छ । हिजो बसेको सत्तारुढ दलहरूको बैठकले रास्वपालाई शिक्षा र श्रम मन्त्रालय दिने निर्णय गरेको थियो ।

स्रोतका अनुसार पार्टीले औपचारिक निर्णय नगरे पछि शिक्षामा शिशिर खनाल र श्रममा डोलप्रसाद अर्याललाई पठाउने निश्चित जस्तै छ । सम्बन्धित क्षेत्रको विज्ञताको कारणले उनीहरू प्राथमिकतामा परेका हुन् । पार्टीले विज्ञताका आधारमा मन्त्री बनाउने यसअघि निर्णय लिइसकेको छ ।

काठमाडौं–६ बाट निर्वाचित खनाल शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । उनी टिच फर नेपालका संस्थापक हुन् । २०१९ मा युवा सीइओको अवार्ड पाएका उनले अमेरिकाबाट राजनीतिकमा अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन गरेका छन् ।

रास्वपाले श्रम मन्त्रालयमा पठाउन लागेका अर्याल पनि वैदेशिक रोजगारको क्षेत्रका अनुभवी हुन् । रेमिट्यान्स व्यवसायीसमेत रहेका अर्यालले जापानमा रहेर वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेका थिए । उनी पार्टीका उपसभापतिसमेत छन् ।

रास्वपाले एक राज्यमन्त्री पाउने भनिए पनि कुन मन्त्रालय भन्ने टुंगो लागेको छैन । पार्टीले स्वास्थ्य राज्यमन्त्रीमा दाबी गरेको छ । त्यो पाएको खण्डमा डा. तोसिमा कार्कीलाई पठाउने सम्भावना रहेको स्रोतले बतायो । स्वास्थ्य मन्त्री भने एमालेको भागमा परेको छ ।

रास्वपाले उपसभामुख पनि पाउने सहमति छ । त्यसमा सोविता गौतमको बलियो सम्भावना छ । यदि एमालेले पुरुष नेतालाई सभामुख बनाएको खण्डमा सोविता उपसभामुख बन्न सक्नेछिन् । तर, एमालेले सभामुख महिला बनाएमा रास्वपाले पुरुष नेतालाई उपसभामुख बनाउनुपर्ने छ ।

प्रकाशित : २०७९ माघ ३, मंगलवार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ