शान्ति सुरक्षामा सहयोग गर्न र सेवा प्रवाहलाई सहज बनाउन सिडिओ खतिवडाको आग्रह


सिरहा । सरुवा भएर भर्खर सिरहा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोजराज खतिवडाले जिल्लाको शान्ति सुरक्षा कायम राख्न र सेवा प्रवाह सहज बनाउन पालिकामै पुगेर जनप्रतिनिधिहरुबाट सुझाव संकलन गर्न थालेका छन् ।

शुक्रवार औरही गाउँपालिका पुगेर जनप्रतिनिधिहरुबाट सिडिओ खतिवडा र सुरक्षा अधिकारीहरु सुझाव संकलन गरे । सो क्रममा सिडिओ खतिवडाले कानूनले मिल्ने सम्पूर्ण सेवा सहज र समयमा सेवाग्राहीलाई प्रदान गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

‘पालिकाबाट हुने काम पनि जनप्रतिनिधिले नगरेर जिल्ला प्रशासन कार्यालयमा पठाउने गरिएको छ’, उनले जनप्रतिनिधिहरुलाई भने, ‘त्यस्तो नगर्नुस् । तपाईहरु त्यसो गर्दा सेवाग्राही त समस्यामा पर्ने नै भयो, हामीलाई पनि धेरै लोड हुन्छ । त्यसैले पालिका र वडाबाट हुने सम्पूर्ण सेवा सेवाग्राहीलाई सहज रुपमा प्रदान गर्नुस् ।’

नागरिकता सिफारिस गर्दा होसियारपूर्वक नेपाली नागरिकलाई मात्र गर्नुपर्ने भन्दै त्यसो नगरेमा आफू पनि फस्ने र हामी पनि फस्ने सिडिओ खतिवडाको भनाई थियो । उनले विभिन्न कामको सिफारिस गरेर जिल्ला पठाउँदा सेवाग्राही अपुरो कागजात लिएर आउँदा समयमा काम नहुने गरेकाले त्यसबारे बुझेर सबै कागजात पुरागरी मात्र सिफारिस गर्न वडाध्यक्षहरुलाई सुझाए ।

उनले डिजे साउण्ड चर्को स्वरमा बजाउनेलाई कारबाही गर्न, सिमामा हुने तस्करी र लागुऔषधको कारोबार रोक्न पालिकाका जनप्रतिनिधिहरुलाई भुमिका खेल्न पनि सुझाए । बालविवाह, दाइजो प्रथा, ठूला भोज र आत्महत्या गर्नेक्रम बढेकाले त्यसलाई रोक्न आवश्यक पहल गर्न पनि जरुरी भएको सिडिओ खतिवडाले बताए । उनले सिमासँग जोडिएको पालिका रहेकाले शान्ति सुरक्षा कसरी कायम गर्न सकिने विषयमा पनि जिज्ञासा राखेका थिए ।

गाउँपालिका अध्यक्ष शिवजी यादवले जनताकै सेवामा कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले गाउँपालिकामा देखिएका समस्याहरु समाधान गर्न तयार रहेको र त्यसका लागि सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले भारतबाट कम्तिमा दुई बोरा मल ल्याउन दिन विगतका प्रमुख जिल्ला अधिकारी जस्तै अनुमती प्रदान गर्न आग्रह गरे ।

अध्यक्ष यादवले सिमा क्षेत्र भएकाले हुने अपराधिक गतिविधि र तस्करी नियन्त्रणमा सहयोग गर्ने बताए । उनले लागुऔषधको तस्करी र सेवन गर्ने युवाहरुको संख्या बढेकाले त्यसको नियन्त्रणका लागि अभियान नै चलाउन लागेको जानकारी गराए ।

उनले विगतको ५ वर्षमा न्यायिक समिति नरहेको र आफूहरु निर्वाचित भएलगत्तै न्यायिक समिति सञ्चालनमा ल्याएर काम अगाडी बढाएको बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई भने, ‘यहाँबाट हुने सेवा यहीँ प्रदान गर्छौं । त्यसका लागि कुनै सुझाव आवश्यक परे तपाईहरुसँग सल्लाह माग्छौं ।’

सुझाव संकलन गर्न आएका सिडिओ खतिवडासँग नेपाल प्रहरी एसपी टेकुनन्द ईवा लिम्बु, सशस्त्र प्रहरीका प्रमुख (एसपी) दिपक कुमार भारती, ईलाका प्रशासन कार्यालय लहानका प्रमुख दिपक कोइराला लगायत सहभागी थिए । उनीहरुलाई पालिका अध्यक्ष यादवले स्वागत गरेको थियो ।

प्रकाशित : २०७९ माघ २८, शनिबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ