सिरहाको सामुदायिक वनमा डढेलो, त्रासमा गाउँले !


सिरहा । सिरहाको लहान नगरपालिका २४ रनहा सिमलटोकी स्थित उत्तरवर्ती चुरे क्षेत्रको चिउलडिही सामुदायिक वन क्षेत्रमा बिहीबार डढेलो लागेको छ । सामुदायिक वनमा बिहीबार अपराह्नदेखि डढेलो लागेको हो ।

३६ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनको ३० हेक्टरभन्दा बढी क्षेत्रमा डढेलोले क्षति पुगेको सबडिभिजन वन कार्यालय लहानले जनाएको छ । सामुदायिक वन क्षेत्र नजिकै वरपर बस्ती रहेकाले वनमा आगो फैलिन थालेपछि त्रासमा रहेका गाउँलेहरूले घरमा रहेको अन्नपात, लत्ताकपडा, आवश्यक कागजपत्र सुरक्षित ठाउँमा सारेका थिए ।

डढेलोबाट वरपरका सिमलटोकी, मानिकदह, झुट्की, खपटेडाँडालगायत गाउँहरू उच्च जोखिममा थिए । ‘डढेलोले ३० हेक्टर क्षेत्रको वन सखाप पार्‍यो,’ सबडिभिजन वन कार्यालय लहानका वन अधिकृत देवेन्द्र पासवानले भने, ‘चारवटा वारुणयन्त्र, प्रहरी, वन कर्मचारी र गाउँलेको प्रयासमा पाँच घण्टा लगाएर नियन्त्रणमा लिन सफल भयौं ।’

लामो समयदेखिको खडेरीसँगै वन जंगलका रुख सुकेका कारण र अत्यधिक हावा चल्दा क्षणभरमै वनभरि आगो फैलिएको वन अधिकृत पासवानले बताए । लहान नगरपालिका, गोलबजार, सिरहा नगरपालिका र सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएको वारुणयन्त्र, वन कार्यालयको आफ्नै पानी ट्यांकीको प्रयोग गरी पाँच घण्टामा आगो नियन्त्रणमा लिइएको वन अधिकृत पासवानले बताए ।

वनमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार सिरहामा २८ हजार १ सय ५५ दशमलव ९५ हेक्टर वन क्षेत्र छ । त्योमध्ये १४ हजार ८६ हेक्टर वन ८९ वटा सामुदायिक वनलाई हस्तान्तरण गरिएको छ ।

प्रकाशित : २०७९ चैत्र २४, शुक्रबार ०८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ