टोपबहादुर रायमाझी पक्राउ परेको खबर झुठो, सम्पर्क समेत नभएको प्रहरीको दावी


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ परिनसकेको बताएका छन् ।

नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमडौंबाट पक्राउ पुर्जी जारी भइसकेपछि रायमाझीलाई पक्राउ गरिसकेको समाचार आएको थियो ।

बिहीबार दिउँसो सिंहरदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रायमाझीलाई प्रहरीले बाटैबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका थिए ।

उनले एमाले सचिव रायमाझीलाई बाटैबाट पक्राउ गरिएको कुरा रहस्यमय भएको पनि बताएका थिए । तर प्रहरीले भने रायमाझी पक्राउ परिनसकेको दाबी गरेको छ ।

‘४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु छन् । एउटा सांसद र उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ’, ओलीले भनेका थिए, ‘उहाँ भागेर जाने कतै होइन । यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु ।’

तर एसएसपी कार्कीले अहिलेसम्म टोपबहादुरबारे कुनै जानकारी नआएको बताएका छन् । ‘टोपबहादुरबारे अहिलेसम्म कुनै जानकारी छैन । उहाँलाई पक्राउ गरिएको छैन’, उनले भने, ‘टोपबहादुरको विषयमा प्रहरीलाई जानकारी छैन । उहाँले आफैं आउँछु भनेर जानकारी दिनु भएको छैन । कतै भनेको भए मलाई थाहा भएन । तर अहिलेसम्म पुलिसले पक्राउ गरिसकेको छैन ।’

रायमाझी बुधबार कानुनलाई सहयोग गर्ने भन्दै अर्घाखाँचीबाट काठमाडौंका लागि हिँडेका थिए । तर उनी बुटवल आसपास आएपछि मोबाइल फोन स्विच अफ गरेर सम्पर्कविहीन छन् ।

प्रकाशित : २०८० बैशाख २१, बिहीबार १७:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ