सुन तस्करसँग महराका बाबु-छोराको साँठगाँठबारे एमालेले संसद्‌मा उठायो प्रश्न


काठमाडौँ । चिनियाँ नागरिकले तस्करी गरेर नेपाल ल्याएको सुन प्रकरणमा जोडिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बाबु–छोरालाई कारबाही नगरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले अडिओ टेप नै बाहिरिँदा पनि महराका बाबु–छोरामाथि अनुसन्धान नगरेको बताए । उनले २०७९ पुस १० गते दुबईबाट १० किलो सुन इलेक्ट्रिक सिगरेटबाट ल्याउने काम भएको र त्यसलाई बाहिर ल्याउन महराले विभिन्न किसिमका हर्कत समेत गरेको संसद्‌मा भने ।

‘हामीले सञ्चारमाध्यमबाट सुन्यौं, सत्तापक्षकै नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका बाउछोराले त्यो सुन त्यहाँबाट बाहिर ल्याउन धेरैपटक त्यहाँका अधिकृतहरुलाई फोन गर्नुभयो,’ सांसद गिरीले भने ।

उनले महराका बाबु(छोराले एक सय ९५ पटक चिनियाँ व्यापारीलाई निरन्तर फोन गरेको प्रहरीले नै स्वीकार गरेको उनले संसद्‌मा बताए ।

‘सत्तापक्षकै नेता कृष्णबहादुर महरा र उहाँका छोराहरुले एक सय ९५ पटक चिनियाँ व्यापारीलाई निरन्तर फोन गरेको कुरा प्रहरीले पनि स्वीकार गरेको छ । तर उहाँलाई बोलाएर अनुसन्धान गर्ने काम गरेन । सोध्ने काम पनि भएन । यो भन्दा ज्यादती के हुन्छ ?,’ उनले भने, ‘आज ठूलो माछाहरु उम्कने र सानालाई खोजी खोजी कारबाही गर्ने ? हामी जो कोहीलाई पनि कारबाही हुनुपर्छ भन्ने पक्षमा छौं ।’

प्रकाशित : २०८० श्रावण १०, बुधबार १८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ