बाबुराम भट्टराईले भने– भ्रष्टाचारविरुद्ध छानबिन होस्, म तयार छु


बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति बनाएर पञ्चायतकालका मन्त्रीदेखि हालका मन्त्री र राष्ट्रपतिसम्मको भ्रष्टाचारविरुद्धका मुद्दाहरु छानबिन गर्न आग्रह गरेका छन् ।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले देशको प्रमुख कार्यकारीमाथि नै प्रश्न उठेको समयमा उच्चस्तरीय र निष्पक्ष छानबिनका लागि आयोग गठन गर्न आवश्यक रहेको जनाए । देशमा अस्थिर सरकार भएका कारण भ्रष्टाचारीमाथि अहिले उठेका विषयमा कारबाही हुनेमा शंका गर्ने प्रशस्त ठाउँ रहेको उनको भनाइ छ । त्यस्तो हुन नदिन अधिकार सम्पन्न उच्चस्तरीय समिति बनाएरै भ्रष्टाचारविरुद्ध छानबिन हुनुपर्ने उनले दोहोर्‍याए ।

भट्टराईले आफू शक्तिमा हुँदा विपक्षीलाई तर्साउन सरकारले विषयहरु उछाल्ने तर, आफ्ना कुराहरु लुकाउने गर्न नहुने उल्लेख गरे । ‘अहिले छानबिनका कुरा आएका हुन् । उहाँहरु निल्नु न ओकल्नुमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरु नडराउनु भए हुन्थ्यो, म त भ्रष्टाचारका सबै फाइल खोल्नुपर्छ भन्ने पक्षमै छु ।’ माथिदेखि नै अनुसन्धानलाई अघि बढाउनुपर्ने जनाउँदै उनले विगतका आयोगजस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने धारणा राखे ।

संसद्‌मा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु अधिकारको कुरा भएको उनले उल्लेख गरे । एमालेको माग सैद्धान्तिक ढंगले ठीक भएको बताउँदै उनले भने, ‘सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग भए हुन्थ्यो भन्ने हो ।’

ललिता निवास प्रकरणको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष भट्टराईले यस प्रकरणमा आफूबाटै अनुसन्धान भए आफू सबैभन्दा धेरै खुसी हुने धारणा राखे । आफू व्यक्तिगत रुपमा जोडिएको नभई प्रधानमन्त्री भएका बेला गरेको केही निर्णयले असर गरेको भन्ने सुनेको जनाउँदै उनले भ्रष्टाचारविरुद्धको छानबिनमा जोकेहीमाथि अनुसन्धान गर्न सरकार डराउन नहुने बताए । ‘भ्रष्टाचारविरुद्ध मेरा हरेक क्रियाकलाप छानबिन होऊन् म तयार छु,’ उनले भने ।

प्रकाशित : २०८० श्रावण २६, शुक्रबार १६:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ