प्रचण्डकी नातिनी र देउवाका छोराको भड्किलो बिहे भोजबारे संसद्‌मा उठ्यो प्रश्न​


काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराको भड्किलो बिहे भोजबारे संसद्‌मा कुरा उठेको छ ।

सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा धेरै जन्ती ल्याउन नहुने भए पनि सत्ताको आडमा प्रचण्ड र देउवाले कानून उलङ्घन गरेका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आरोप लगाए ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सामाजिक सुधार व्यवहार ऐनमा ५१ जनाभन्दा बढीलाई विवाहमा आमन्त्रण गर्न नहुने र सो कानून उलङ्घन गर्नेलाई २० हजार जरिवाना र १५ दिन कैद गर्ने व्यवस्था भए पनि ठूलाले कानून उलङ्घन गरेको आरोप लगाएका हुन् ।

‘भर्खर प्रधानमन्त्रीको नातिनीको विवाह भोजमा हजारौंको सहभागिता रहेको थियो । सत्ता गठबन्धनका सभापति शेरबहादुर देउवाका छोराको विवाह भोज सोल्टी होटलमा १० दिन चलेको थियो । आर्मी अफिसर्स क्लबको भोजमा ५१ जना मात्र थिए कि बढी थिए ?’, सांसद सिंहले प्रश्न गरे ।

गत मंसिरमा प्रचण्डकी नातिनी एवं भरतपुर महानगरकी मेयर रेनु दाहालकी छोरी प्रतिभाको विवाह भोज गोकर्ण रिसोर्टमा गरिएको थियो । देउवा पुत्र जयवीरको विवाह गत माघ २३ गते सोल्टी होटल र भोज आर्मी अफिसर्स क्लबमा भएको थियो ।

ठूला नेताले कानून उलङ्घन गरिरहेको उनले आरोप लगाए ।

प्रकाशित : २०८० फाल्गुन ११, शुक्रबार १७:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ