काठमाडौं । सत्ता समीकरण फेरबदलको गृहकार्य चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा रहेका सबै मन्त्रीहरूलाई छलफलका लागि निवासमा बोलाएका छन् ।
साँझ ६ बजे एमालेका सबै मन्त्रीहरूलाई बालकोटमा बोलावट भएको हो । एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने तयारी भइरहेको चर्चा छ । अध्यक्ष ओलीले मन्त्रीहरूलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ ।
यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन : ओली
यसैबीच एमाले अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सञ्चारकर्मीहरूले प्रधानमन्त्री बन्ने चर्चा छ, शपथ कहिले भनेर गरेको प्रश्नमा अध्यक्ष ओलीले आफूलाई त्यस्तो नलागेको बताए । उनले यस वर्ष प्रधानमन्त्री बन्ने जस्तो नलागेको प्रतिक्रिया दिए । उनले भने, ‘त्यस्तो त लाग्दैन मलाई । यो वर्ष बनिन्छ जस्तो लाग्दैन ।’
देश जनताले तपाईंलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् नि भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले राम्रो कुरा भएको संक्षिप्त प्रतिक्रिया दिए ।