जनकपुरधाम । संयुक्त मधेश संघर्ष समितिले यही भदौँ ३१ गते जनकपुरधाममा खबरदारी सभा गर्ने भएको छ ।
संयुक्त संघर्ष समितिको बैठकबाट खबरदारी सभा गर्ने निर्णय गरेको जनाइएको छ । बैठकमा तराई–मधेश लोकतान्त्रि पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्ष जगतप्रसाद यादव, नेकपा एकीकृत समाजवादीको नेता शीतल झा, नेपाल सद्भावना पार्टीको महामन्त्री पवन कुमार साह, जनअधिकार पार्टीको अध्यक्ष इमदाद गड्डीलगायतकाहरुले खबरदारीसभा गर्ने निर्णय गरेको जनाएको छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले जनाए अनुसार यही भदौँ ३१ गते संयुक्त मधेश संघर्ष समितिले जनकपुरधामको कलवार कुटीमा दिउँसो १ बजे ‘मधेश र संविधान संशोधनः हाम्रो खबरदारी’ माथि केन्द्रित रहेर खबरदारी सभा गर्ने जनाइएको छ ।
संयुक्त मधेश संघर्ष समितिले प्रदेशहरुलाई निर्वाचन क्षेत्र मानी पूर्ण समानुपातिक निर्वाचन पद्धति, प्रदेशहरुको सीमांकनमा पहिचान आधारित सुधार, अनुचित थ्रेस होल्डको समाप्ति, प्रदेश र स्थानिय तहको प्रतिनिधि सदन राष्ट्रियसभाको भूमिकालाई सशक्त मजबूती, संघीय संरचनामा प्रदेशिक स्वशासनको सुदृढताको निमित्त प्रादेशिक राजनीतिक दलहरुको मान्यता, भ्रष्टाचारमाथि कारगर नियन्त्रण र सुशासनको सुनिश्चितता जस्ता मांगहरु अघि सारेको छ ।
समितिले सबै पहिचानवादी संघीयतावादीहरुलाई गोलबन्द हुन आह्वान समेत गरेको छ । सो बैठकमा जोगेन्द्र राय, सतीश लाल दास, सुभाष कर्ण, बिभा ठाकुर, बिन्दु ठाकुर, बिमला साह, भोलानाथ झा, मुरारी कर्ण, इश्वर पण्डित, आदि नेताहरुको उपस्थित रहेका थिए ।