काठमाडौं । सल्यानमा पहिलोपटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका नौजनामा संक्रमण पुष्टि भएको हो ।
भदौ महिनामा मात्रै नौजनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आठजना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा। अर्जुनकुमार बुढा मगरले जानकारी दिए ।
उनका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन तथा छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये चारजना १३ वर्षमुनिका बालबालिका रहेका छन् । यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन ।
बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ । समयमा नै उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढा मगरको भनाइ छ ।
डा. बुढा मगरले शुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गर्नुपर्ने अवस्था निम्तिने बताए ।
उनका अनुसार पाँचदेखि १० दिन औषधी प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुन्छन् । मुख्यतः मुसाले टोकेपछि यो रोगले आक्रमण गर्छ । मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ ।