जयनाथ यादव,
लहान । नहर मास्ने षड्यन्त्रविरुद्ध लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध आन्दोलन निरन्तर जारी रहने खुट्टी खोला सिंचाई नहर संघर्ष समिति र दलित संघर्ष समितिले जनाएको छ ।
दुबै समितिले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको हो । नगर प्रमुख चौधरीले भूमाफियाहरुको आर्थिक प्रलोभनमा परि किसानको हित विपरित साठी वर्षदेखि अस्तित्वमा रहेको नहर कथित सौन्दर्यकणको नाममा ह्यूम पाइप राखेर मास्न खोजिएको समितिको आरोप छ ।
उच्च अदालत जनकपुर राजविराज ईजलासको अन्तरिम आदेश ूपानी जाने नहरहरू मास्त्र नदिई दुरुस्त राख्नु पर्ने देखियो साथै साबिक देखिको नहरको सिचाई प्रणालीमा असर नपुग्ने गरि मात्र ढल निर्माण तथा करिडोरको बिकास गर्नुू भने स्पष्ट आदेशको उलंघन गर्दै रातारात किसानको अमुल्य प्राकृतिक सम्पति सिचाई नहरको बिचमा नगर प्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरी समेतको कडा सुरक्षा घेरा हालेर धमाधम ह्युम पाईप राखे काम भई रहेको दुखःद विषम परिस्थितिको बारेमा तमाम किसान, बुद्धिजिबीहरु अबगत नै हुनुहुन्छ,’ विज्ञप्तीमा भनिएको छ ।
भूमाफियाहरुको स्वार्थ, जालझेल र षडयन्त्रको भण्डाफोरको गर्नको लागी सशक्त प्रतिकारमा उपभोक्ता किसानहरु कथित सर्वदलीय संयन्त्रको किसानमारा अहितकारी कर्मकाण्डी निर्णयको भ्रममा नपरी घोषणा गरेको चरणबद्ध आन्दोलनमा सहभागी हुन समितिले अनुरोध गरेको छ ।
उच्च अदालत राजविराज इजलासको अन्तरिम आदेशको पालना गर, नहर मासेर निर्माण हुन लागेको ढल निकासको काम बन्द गर, अतिक्रमित नरहेको जग्गा खाली गर, सुकुम्बासीहरुको लालपूर्जा अध्यावधिक गरी वितरण गर, दलित गरिब माथिको दमन र शोषण बन्द गर तथा गरिब, दलितमाथि लगाएको झुठा मुद्दा खारेज गर माग समितिले राखेको छ ।
समितिले नहर मास्ने षड्यन्त्रविरुद्ध माघ ५ गतेसम्म किसान सचेतना÷जागरण कार्यक्रम गर्ने, माघ ६ गते मसाल जुलुस र माघ ७ गते किसान मजदुरहरुद्धारा नगर प्रदर्शन गर्ने जनाएको छ ।