कुलमानलाई फेरि स्पष्टिकरण सोध्नुको रहस्य ! ऊर्जामन्त्री खड्काको नियतमा खोट


काठमाडौं । सबै काम छाडेर विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पछि लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले फेरि स्पष्टीकरण सोधेका छन् ।

घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मङ्गलबार २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट सोधिएको स्पष्टीकरणमा २४ घण्टाभित्र जवाफ दिन भनिएको प्राधिकरण स्रोतले जनाएको छ ।

यसपटक खड्काले कुलमानप्रति नेपाल-भारत द्विपक्षीय बैठकमा सहभागी भएको विषय उठाएका छन् । उनले पत्रमा नेपाल–भारत द्वीपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर सोधेका छन् ।

‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूचीको विषय सङ्ख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्‌मा पेस गर्नुपर्ने विषयमा मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्वीपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी तपाईंले कसरी पाउनुभयो रु यस विषयमा तपाईंलाई कारबाही किन नगर्ने ?’ भनेर पत्रमा सोधिएको छ ।

प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता निरन्तर कुलमानविरुद्ध लागिरहेका छन् । मन्त्री खड्काले अहिलेसम्म थुप्रै पटक स्पष्टीकरण सोधिसकेका छन् ।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकमा उनले कुलमानलाई हटाउने प्रस्ताव लैजाने तयारी गरेका थिए । तर, शीर्षस्थ नेताले नमानेपछि उनी रोकिएका थिए । उनले अहिलेसम्म आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषयमा समेत कुलमानलाई स्पष्टीकरण सोधेका छन् ।

पछिल्लो पटक मङ्गलबार दिइएको पत्रमा यसअघि सोधिएका स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएकोसमेत उल्लेख गरिएको छ ।

प्रकाशित : 25 February 2025 8:40 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !