नवलपरासी झडप– घाइते एक जनाको उपचारको क्रममा मृत्यु


काठमाडौं । पश्चिम नवलपरासी पालिनन्दन गाउँपालिका–३ मा आज भएको झडममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

झडपका क्रममा गाडीले किचेर घाइते भएका विजय धवलको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई अस्पतालले सवा ५ बजे मृत घोषणा गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

स्थानीय युवक र युवतीको प्रेमसम्बन्धको विषयमा दुई समूहबीच मंगलबार दिनभर उक्त स्थानमा झडप भयो । स्थितिलाई नियन्त्रणमा लिन पुगेको प्रहरीको गाडी नै उनीहरुले जलाइदिए ।

एउटा गोदाममा समेत आगजनी गरेका छन् । त्यसक्रममा ११ जना नेपाल प्रहरी, ६ जना सशस्त्र प्रहरी र ६ जना स्थानीय घाइते भएका थिए । स्थितिलाई नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट डीएसपीको कमान्डमा ६३ जना, नं २६ गण पश्चिम नवलपरासीबाट डीएसपीको कमाण्डमा ४५ जना, नं २७ गण रुपन्देहीबाट इन्सपेक्टरको कमाण्डमा ३५ जना र सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटबाट इन्सपेक्टरको कमाण्डमा ३५ गरी १७८ जना सशस्त्र प्रहरी खटिएको पनि सहप्रवक्ता थापाले बताए ।

सशस्त्र प्रहरीले एसएलआरबााट १ राउण्ड हवाई फायर र ६ सेल अश्रुग्यास फायर भएको जनाएको छ । बाँकी नेपाल प्रहरीले हवाई फायर र अश्रुग्यास हानेको थियो ।

प्रकाशित : 25 February 2025 8:50 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !