बिचौलिया र सरकारको मिलेमतोमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड


सप्तरी। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् ।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ को तोप भन्ने ठाउँमा आज बिहान आयोजित भेटघाट कार्यक्रममा उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाए ।

‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रुपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’

उनले अगाडि भने, ‘यो किन त्यस्तो भाछ भन्दा सरकार र बिचौलियाहरुले सेटिङ गरेर किसानहरुलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भाहो ।’

उनले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने उनले आश्वासन दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिंचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन भनेका थिए । सोही क्रममा प्रचण्डले ऊर्जा मन्त्रालयसँग कुरा गरेर विद्युत र सिंचाइको समस्या समाधान गर्ने आश्वासनसमेत दिए ।

प्रकाशित : 28 February 2025 10:35 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !