मधेसी दलबाट मधेसी जनताको मुक्ति असम्भव, अब माओवादीले जिम्मा लिन्छ : प्रचण्ड


सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेसवादी दल माओवादी मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।

तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँग अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

उनले मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयाको परेको औल्याए । भने, ‘मधेसी दलबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेको छ । अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको छ ।’

आफूलाई मधेसवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादीतीर उन्मुख रहेको भन्दै अध्यक्ष प्रचण्डले नक्कली मधेसवादी दलसँग सावधान रहन आग्रह समेत गरे ।

मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै उनले मधेससंगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिदसहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले जिकिर गरे ।

अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।

प्रकाशित : 28 February 2025 2:48 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !