‘रिंकुलाई न्याय देऊ’ भन्दै लहानमा दलित समुदायको प्रदर्शन, राजमार्ग पनि अबरुद्ध


सिरहा । ‘रिंकु कुमारी सदाय’लाई न्याय देऊ भन्दै सिरहाको लहानमा दलित समुदायले विशाल प्रदर्शन गरेका छन् । उनीहरु पूर्व पश्चिम राजमार्ग पनि अबरुद्ध पारेका हुन् ।

घटनामा संलग्न दोषीहरुलाई प्रहरीले अझै पक्राउ पर्न नसकेको र घटना दबाउन अझै षड्यन्त्र भइरहेको भन्दै दलित समुदाय आन्दोलित बनेको हो । आज जिल्लाभरका दलित अगुवा र मुसहर समुदायका व्यक्तिहरु प्रदर्शनमा सहभागी छन् ।

उनीहरु ‘रिंकुलाई न्याय देऊ, अपराधीलाई समात्न नसक्ने असक्षम प्रहरी प्रशासन मुर्दाबाद, घटना दबाउन खोज्नेहरु होसियार जस्ता नारा लगाएका छन् । दलित अगुवा रामसुफल सदायले पीडितको न्यायका लागि प्रदर्शन गरेको बताए ।

सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु गत माघ २९ मा मृत फेला परेकी थिइन् । माघ २७ मा सामुहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नलग्न पंचायतमार्फत दबाब दिएको थियो । त्यसको विहानपल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेको आरोप छ । उनी तीनैजना र पंचायत गर्ने ५ अगुवामाथि पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् ।

जाहेरी परेकामध्ये कोही पक्राउ पर्न सकेका छैनन् । प्रहरीले पंचायतमा संलग्न रहेको भन्दै जाहेरी बाहिरका तीन जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 28 February 2025 4:41 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !