रिंकु सदायको परिवारलाई भेट्न घरमै पुगे प्रचण्ड, न्याय दिलाउने आश्वासन


जयनाथ यादव/ सिरहा । तराई-मधेस जागरण अभियानको क्रममा सिरहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलात्कारपछि मृत्यूवरण गरेकी रिंकु सदायको परिवारलाई भेटेका छन् ।

नवराजपुर गाउँपालिका १ भगवतीपुरस्थित रिंकुको घरमै पुगेर माओवादी अध्यक्ष प्रचण्डले न्याय दिलाउने आश्वासन दिएका हुन् । उनले भने, ‘उजुरी दर्ता भइसकेको छ । दोषी सबैलाई छिटो पक्राउ गर्न पुलिसलाई भन्छौं ।’

माओवादी अध्यक्ष प्रचण्डले रिंकुकी आमा-बुवालाई राहतका लागि पनि पहल गर्ने आश्वासन दिए । उनले जिल्लाभरका नेता कार्यकर्तालाई पनि रिंकुको न्यायका लागि संघर्षमा साथ दिन निर्देशन दिए।

१७ वर्षीया रिंकु गत माघ २९ मा मृत फेला परेकी थिइन् । माघ २७ मा सामुहिक बलात्कृत भएकी उनलाई घटना बाहिर नलग्न पंचायतमार्फत दबाब दिएको थियो । त्यसको विहानपल्टै रिंकु घरमै मृत फेला परेकी थिइन् ।

गत माघ २७ गते साँझ शौच गर्न निस्केको बेला रिंकुलाई छिमेकी रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले अपहरण गरी सामुहिक बलात्कार गरेको आरोप छ । उनी तीनैजना र पंचायत गर्ने ५ अगुवामाथि पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन सम्बन्धी जाहेरी दिएका छन् ।

जाहेरी परेकामध्ये कोही पक्राउ पर्न सकेका छैनन् । प्रहरीले पंचायतमा संलग्न रहेको भन्दै जाहेरी बाहिरका तीन जनामाथि अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित : 1 March 2025 9:50 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !