प्रशासकीय अधिकृत नपठाएको भन्दै भंगहाका मेयरले नगरपालिकाको साँचो सिडिओलाई बुझाए


जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयले चासो नदेखाएको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव साहले नगरपालिकाको साँचो सिडिओलाई बुझाएका छन् ।

मेयर साहले नगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेर साँचो महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारीलाई बुझाएका हुन् । साँचो बुझाउन मेयर साहसंगै वडाध्यक्षसहितका जनप्रतिनिधिहरु पनि जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

प्रशासकीय अधिकृत लामो समयदेखि नहुँदा प्रशासनिक काम र विकास निर्माणको कामहरु समेत अलपत्र परेको मेयर साहले बताए । उनले भने, ‘प्रशासकीय अधिकृत पठाउन मन्त्रालयलाई पटक पटक ताकेता गरे । तर प्रशासकीय अधिकृत पठाउन चासो पनि देखाएन । सम्पूर्ण कामकाज रोकिएपछि कार्यालय खोलेर के काम ? बन्द गरेर साँचो सिडिओ साहेबलाई बुझाएका छौं ।’

सामान्य प्रशासन मन्त्रालयले ९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी खोसेर लेखाका अधिकृत आठौं रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी तोकेको थियो ।

फागुन ४ मा मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेर निमित्त तोकिएका रामसागरको जिम्मेवारी खोसेको थियो । तर हालसम्म घिमिरे हाजिर नभएको मेयर साह बताउँछन् ।

उनका अनुसार नगरपालिका प्रशासकीय अधिकृत विहिन हुँदा मेला महोत्सव, उपचार छुट सिफारिस, टेण्डर प्रक्रिया र विकास निर्माणसहितका कार्यहरु प्रभावित भएको छ । अधिकृत नआएसम्म नगरपालिका बन्द राख्ने उनको भनाई छ ।

प्रकाशित : 2 March 2025 5:58 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !