रिंकु सदाय मृत्यू प्रकरण- पञ्चायत गर्ने वडा सदस्य साहसहित चारजना पक्राउ


जयनाथ यादव, लहान । सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्यू प्रकरणमा वडा सदस्य नथुनी साहसहित थप चारजना पक्राउ परेका छन् ।

सिरहा प्रहरीले वडा सदस्य साह, राम कृपाल मण्डल, विन्देश्वर साह र नाम नखुलेका एक जनालाई भारतमा पक्राउ गरी नेपाल ल्याउन लागेको स्रोतले जनाएको छ । नाम नखुलेका व्यक्ति बलात्कार आरोपी राम विनय मण्डलको बुवा रहेको बताइएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले रिंकु मृत्यू प्रकरणमा वडा सदस्य साहसहितका व्यक्तिहरु पक्राउ परेको जानकारी दिए । उनले पक्राउ परेकाहरुलाई कार्यालयमा ल्याउन लागेको र आएपछि विस्तृत विवरण दिने बताए ।

गत माघ २७ मा शौच गर्न बाहिर निस्केको बेला रिंकुलाई तीन जनाले अपहरण गरेर सामुहिक बलात्कार गरेको थियो । उक्त घटना दबाउन वडा सदस्य साहसहितका व्यक्तिहरु गाउँमै पञ्चायत बसेर पीडित परिवारलाई दबाब दिए । पञ्चायत बसेको केहि घण्टामै माघ ३० मा रिंकु घरमै मृत फेला परेकी थिइन् ।

पीडित परिवारले सामुहिक बलात्कारका तीन आरोपी र पञ्चायतमा घटना दबाउन भुमिका खेलेका पाँच पञ्च गरी आठ जनामाथि जबरजस्ती करणी, अपहरण, हत्या र लेनदेन शीर्षकमा जाहेरी दिएको छ ।

जाहेरी परेकामध्ये बलात्कारका मुख्य आरोपी रुपेश मण्डल यसअघि नै पक्राउ परिसकेका छन् । यसबाहेक उजुरी परेका तीनजना अझै फरार छन् । उजुरी नपरेको र पंचायतमा सहभागी अन्य एक व्यक्ति पनि प्रहरीको हिरासतमा छन् ।

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ