काठमाडौंमा टहराभित्र टिपर छिरेपछि सुतेका ३ जनाको मृत्यु


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ६ साँखुको सलम्बुटारस्थित साँखु-ब्रम्हखेल सडककाे छेउमा रहेकाे आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ । उक्त टहरामा सुतेका अन्य सात जना बाँच्न सफल भएका छन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले सञ्चालन गर्दै आएकाे जस्ताको टहराको आश्रयस्थलमा आज बिहान करिब पौने चार बजे बा २ क ६५८० नम्बर टिपर छिरेको हो । टिपरले किच्दा तीन जनाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट २१ वर्षीय आकाश, २१ वर्षकै सुमन र अन्दाजी ४५ वर्षका हरिजनको मृत्यु भएको हो। उनीहरुको स्थायी ठेगाना र थर खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका छन् ।

दुर्घटनामा परेकाे टिपरका चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ का २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सलम्बुटारमा ०६२ सालदेखि उक्त आश्रयस्थल सञ्चालमा रहेको स्थानीयले बताएका छन् । युवराज थापाले सञ्चालन गरेको उक्त संस्थामा हाल ६१ जना बस्दै आएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताए ।

प्रकाशित : २०८१ फाल्गुन २३, शुक्रबार ११:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ