विरोधीलाई राजेन्द्र लिङदेनको जवाफ- हामीले देशको राजा खोजेका हौं, चुनाव हामी लड्छौं


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लड्न चेतावनी दिएका राजनीतिक दललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले जवाफ दिएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथिको संस्था भएकाले चुनाव नलड्ने बताएका छन् ।

‘चुनाव लड्नको लागि हामीजस्ता मानिसहरू छौँ । हामीले खोजेको राजा, हामीले स्थापित गर्न खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन । राजनैतिक दलको राजा होइन, देशको राजा खोजेको हो । राजा राजनीतिक दलभन्दा र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो,” उनले भनेका छन्।

वर्तमान राजनीतिक दलहरूसँग चुनाव लड्न राप्रपा नै काफी रहेको उनको भनाइ छ । आफूहरूले राजनीतिक दलको नभएर मुलुककै प्रतिनिधित्व गर्ने राजसंस्था स्थापित गर्न खोजेको लिङ्देनको भनाइ छ ।

फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश मार्फत वर्तमान राजनीतिक दलहरूले व्यवस्था बदलेपनि अवस्था बदल्न नसकेको भन्दै त्यसका लागि आफूलाई साथ दिन अपिल गरेका थिए ।

फागुन ७ मा ज्ञानेन्द्रले दिएको अभिव्यक्तपछि राजवादी दलहरू हौसिएका छन् भने गणतन्त्रवादी दलहरू तरङ्गित बनेका छन् । काङ्ग्रेस, एमाले, माओवादी केन्द्रका नेतृत्वले पूर्व राजालाई चुनाव लड्न चुनौती पेस गरिरहेको अवस्थामा राप्रपाले यस्तो जवाफ फर्काएको हो ।

प्रकाशित : 8 March 2025 5:28 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !