जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादवले झुठा हिसाव पेश गरेको आरोप, पार्टीबाट निलम्बित


जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले झुठा हिसाव पेश गरेको आरोप लागेको छ ।

जनमतका राष्ट्रिय कोषाध्यक्ष यादव गैरआवासिय मधेसी संघको पनि कोषाध्यक्ष हुन् । हरहिसाब माग्दा नदिएको र पटक पटक झुठा हरहिसाब पेश गरेको आरोप उनीमाथि जनमत पार्टीको केन्द्रीय सुशासन समितिले नै लगाएको छ ।

सुशासन समितिकी केन्द्रीय सचिव अनिता कुमारी मण्डलले हरहिसाब नदिएको लगायतका दर्जनौं आरोप लगाउँदै यादवलाई सात दिनभित्र स्पष्टिकरण सोधेकी छन् । साथै स्पष्टिकरण प्रक्रियाभर पदबाट निलम्बन रहनेगरी यादवलाई कारबाही समेत गरिएको छ ।

पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो ठूलो पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेर अधिकांश समय विदेशमा विताउने गरेको, पार्टीको महत्वपूर्ण बैठक र कार्यहरुमा सहभागिता नभएको, पार्टीको विरोधमा सामाजिक सञ्जालमा पोष्ट गरेको, पार्टी फोड्न गुटबन्दी गरेको जस्ता आरोप यादवमाथि लगाइएको छ ।

यस्तै सप्तरी १ र २ मा नेता कार्यकर्ता भड्काएर निष्कृय बनाएको, त्यहाँको उम्मेदवार डा. जयकान्त राउत, राष्ट्रिय अध्यक्ष डा. सीके राउत, र बारा २ को उपनिर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई हराउने षड्यन्त्र गरेको लगायतका आरोप पनि यादवमाथि लगाउँदै स्पष्टिकरण सोधिएको छ ।

प्रकाशित : 8 March 2025 7:55 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !