जनमत पार्टीमा भाँडभैलो : उपाध्यक्षले गरे बैठक बहिष्कार, सीके राउतले दाजुलाई बोके !


जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीमा भाँडभैलो भएको छ । राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पुराना नेताहरु असन्तुष्ट बनेका हुन् ।

सोमबारदेखि महोत्तरीमा केन्द्रीय समिति बैठक सुरु  भयो । उक्त बैठक उपाध्यक्ष ई. दीपक साहले बहिष्कार गरे । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेको बुझिएको छ।

यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । पार्टीकै एक केन्द्रीय सदस्यका अनुसार दीपकलाई पार्टी अध्यक्षले स्पष्टीकरण सोधेको र अनुशासन समितिको संयोजकबाट हटाइएका कारण उनी असन्तुष्ट भएर बैठक बहिष्कार गरेका हुन् ।

अध्यक्ष राउतले सुरुदेखि जसको साथ पाए, त्यही नेतालाई कुनै न कुनै रुपमा कारबाही गरेर पार्टीबाट अलग राखेको गुनासो पनि उपाध्यक्ष साहले पार्टीमा राख्दै आएको स्रोतले जनाएको छ ।

‘जसले दिनरात खटेर पार्टी बनाए, आज तिनै व्यक्तिहरूको यो पार्टीमा कुनै अस्तित्व छैन । एक एक गरी सबैलाई कारबाही भइरहेको छ । जसलाई कारबाही गरिएको छैन, उनीहरूलाई निगरानीमा राखिएको छ,’ ती केन्द्रीय सदस्यले भने ।

कतिपयले त अध्यक्ष राउतले पुराना नेताहरूलाई हटाएर पार्टीमा आफ्ना दाजु जयकान्त राउतलाई स्थापित गर्न चाहेको आरोप समेत लगाएका छन् ।  दाइलाई स्वतः माथिल्लो पोस्टमा लगेर नेता बनाउने दाउमा अध्यक्ष राउत रहेको आरोप छ ।

शनिवार पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पनि सात दिनको स्पष्टीकरण सोध्दै पार्टीबाट निलम्बन गरिएको छ । कोषाध्यक्ष यादवले गाडी किन्न ७० लाख र पटक पटक गरी ५ करोडभन्दा बढी रुपैया अध्यक्ष राउतलाई दिएको र सोको हिसाब मागेका कारण आफू कारबाहीमा परेको गुनासो गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धन बनेपछि पार्टीमा विदेशबाट करोडौँ रुपैयाँ आएका तर त्यो रकम केमा खर्च भयो त्यसको हिसाब किताब अध्यक्ष राउतले नदिएको गुनासो अन्य नेताहरूको छ ।

यसअघि उपाध्यक्ष अब्दुल खानलाई पनि पार्टीमा स्पष्टीकरण सोधिएको थियो । त्यो स्पष्टीकरण बाहिर सार्वजनिक गरिएको थिएन । अध्यक्ष राउतप्रति उपाध्यक्ष खान अहिले पनि असन्तुष्ट रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी, उपाध्यक्ष वसन्त कुशवाहा पनि अध्यक्ष राउतप्रति सन्तुष्ट छैन् । केन्द्रीय सदस्य ई. शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ । यसअघि सचिव बिपी साहलाई पनि पार्टीबाट निलम्बन गरिएको थियो । अध्यक्ष राउतले सचिवद्वय अनिता साह र भुपेन्द्र यादवलाई पनि स्पष्टीकरण सोधेका थिए ।

यसअघि कैलाश महतो, जासर यादव, डा. रवीन्द्र यादव जस्ता नेताहरूलाई समेत राउतले पार्टीबाट निष्कासन गरिसकेका छन् । बाँकी रहेका नेताहरूमाथि अध्यक्ष राउतले हुकुम्मत चलाउने गरेको र उनीहरु पनि पार्टीमा भनेजस्तो  नगरे बाहिर निकाल्ने प्रपञ्च रचिसकेको नेताहरूको गुनासो छ । 

प्रकाशित : 10 March 2025 7:59 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !