शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, दलका कार्यालयमा धर्ना दिने


काठमाडौं । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुनेगरी नयाँ विद्यालय शिक्षा ऐनको माग राख्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिन महासंघले आन्दोलनलाई निरन्तरता दिएको छ । सरकारलाई आन्दोलनमार्फत माग पुरा गर्न बाध्य तुल्याउने महासंघको रणनीति छ ।

सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासंघले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम बनाएका छन् । फागुन २७ देखि चैत ५ गतेसम्म दलका कार्यालयहरूमा धर्ना दिने तालिका पनि महासंघले सार्वजनिक गरेको छ ।

कुन दिन कुन पार्टी कार्यालय ?

फागुन २७– नेपाली कांग्रेस
फागुन २८– नेकपा एमाले
चैत १– नेकपा माओवादी केन्द्र
चैत २– नेकपा एकीकृत समाजवादी
चैत ३– राष्ट्रिय स्वतन्त्र पार्टी
चैत ४– जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा
चैत ५– जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा (राष्टिय प्रजातन्त्र पार्टी)

यसका साथै सांसदहरूसँग भेटघाट तथा पक्षधरता निर्माण गर्ने रणनीति पनि शिक्षकहरूको छ । महासंघले हरेक जिल्लाका आन्दोलन परिचालन समितिहरूलाई सो जिल्लाका संघीय सांसदहरूसँग भेट गरी विद्यालय शिक्षा ऐनको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न दबाब दिने कार्यक्रम तय गरेको हो ।

यदि यसले पनि दबाब महसुस नगरी माग सम्बोधन नभएमा चैत ७ गतेबाट १५ गतेसम्म रिले अनसन बस्ने घोषणा शिक्षकहरूले गरेका छन् ।

प्रकाशित : 10 March 2025 5:20 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !