मधेसका मुख्यमन्त्री सिंहलाई महामूर्ख घोषणा गर्ने सम्भावना


जनकपुरधाम । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) जनकपुरधामले विगत जस्तै यसवर्ष पनि महामूर्ख सम्मेलन आयोजना गरेको छ ।

होलीका अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिनापले राम्रा काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न १५ प्रकारका व्यङ्गात्मक पदवीबाट सम्मान गर्छ ।

फागु पूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता हिजो सम्पन्न भयो । आज दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिदैछ ।

आज दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने बताइएको छ । जसअन्तर्गत महत्त्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ ।

मिथिला नाट्य कला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।

मिनापका महासचिव शैलेन्द्र मल्लिकले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायत विभिन्न सांसद तथा समाजिक अभियन्ताहरूको नाम चर्चामा रहेको बताए । उनले छनोट समितिले लगभग सबै तयारी गरिसकेको छ, अब आज (शुक्रबार) हुने महामूर्ख सम्मेलनमा नै नाम घोषणा गरिन्छ, अहिले यसलाई रहस्यमै राख्नु उचित हुन्छ ।’

प्रकाशित : २०८१ चैत्र १, शुक्रबार ०९:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ