रिंकु सदाय मृत्यू प्रकरण- पंचायत गर्ने वडासदस्य नथुनी जेल पुगे, ६ जनासंग धरौटी माग


सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन् । सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएको श्रेस्तेदार निरज पोखरेलले जानकारी दिए । यसैगरी, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ ।

पोखरेलका अनुसार, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको हो । अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ ।

यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दस जना अझै फरार छन् ।

उनीहरुका नाममा कानुन बमोजिम म्याद जारी हुने सिरहा जिल्ला अदालतले जनाएको छ । रिंकु माघ २७ गते साँझ शौच गर्न घरछेउको खेततिर जाँदा स्थानीय तीन जनाबाट बलात्कृत भएकी थिइन् । कपडा च्यातिएको, शरीरमा माटो लागेको अवस्थामा भोलिपल्ट बिहान ४ बजे मात्रै उनी घर आइपुगेकी थिइन् ।

पेट समातेर रोइरहेको देखेर आमाले सोधखोज गर्दा आफू बलात्कृत भएको उनले सुनाएकी थिइन् । शौच गरिरहेका बेला अचानक आरोपितहरु आएर शारीरिक सम्पर्क राख्न प्रस्ताव गरेको र नमान्दा करेसाबारीमा लगी पालैपालो करणी गरेको उनले बताएकी थिइन् ।

गाउँमा हल्ला भएपछि पीडितलाई प्रहरीमा पठाउनुको साटो मिलाउन गाउँमै पञ्चायती गरिएको थियो । करिब ३० स्थानीयको सहभागितामा बसेको पञ्चायतीले आरोपितले एक लाख ४० हजार रुपैयाँ तिर्नुपर्ने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय सुनाएको थियो ।

तर, आरोपितले दिने रकम पनि पञ्चायतीका अगुवाले आपसमा बाँडचुँड गर्न खोजेका थिए भने पैसा तिर्न आरोपित बीचमै विवाद भएको थियो । विवाद भएर घटना थप जटिल बन्न पुगेको र छिटो मिल्न पीडक पक्षबाट तारन्तर धम्की आइरहेको अवस्थामा रिंकु माघ ३० गते साँझ आफ्नै घरमा भुन्डिएको अवस्थामा भेटिएकी थिइन् ।

तर, इलाका प्रहरी कार्यालय, लहानले यस घटनामा अपहरण तथा बलात्कारका मुख्य आरोपित एक जनाविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लिएको थियो । घटनाबारे समाचार आएपछि बल्ल प्रहरीले ८ जनाविरुद्ध शरीर बन्धक, जबर्जस्ती करणी, लेनदेन मिलापत्र र आत्महत्या दुरुत्साहन गरी चार कसुरमा पूरक जाहेरी लिएको थियो ।

कान्तिपुरबाट

प्रकाशित : २०८१ चैत्र १३, बुधबार १२:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ