जम्मु-कश्मीर आतंकवादी हमलामा एक नेपाली पनि मारिए


काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका २७ जनामा एक नेपाली पनि परेका छन् ।

दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन् । समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ ।

जम्मु-कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो ।

मारिएका २७ जनामा एक नेपाली, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ ।

हमला मंगलबार दिउँसो २:४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो । मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने । यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे ।

यसैबीच आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ । घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् ।

घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ । हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ ।

यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आक्रमण हुँदा ४० सैनिक मारिएका थिए ।

प्रकाशित : २०८२ बैशाख १०, बुधबार ०६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ