जनमत र नागरिक उन्मुक्तिबीच बैशाख १७ गते एकिकरण घोषणा हुन्छ : सीके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकीकरण आगामी वैशाख १७ गते घोषणा हुने बताएका छन् । यो एकीकरण जनताको आकांक्षा र दबाबबाट प्रेरित रहेको उनले स्पष्ट पारे ।

बुधबार नागरिकन्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’मा बोल्दै डा. राउतले जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरणले जनताको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे ।

‘पूर्वमा जनताले ममाथि र पश्चिममा रेशमजीमाथि ठूलो भरोसा गरेका छन् । दुवै पक्षका कार्यकर्ता एकीकरणको कुराले उत्साहित छन्,’ उनले भने ।

उनले यो एकीकरणका लागि आफूले पहल नगरेको तर जनताको चाहना र दबाबले यो प्रक्रिया अघि बढेको सुनाए । ‘म कसैलाई पार्टीमा आउन भन्दिनँ, तर जनताको आकांक्षाले हामीमाथि दबाब छ। यदि हामीले यो गर्न सकेनौं भने जनताले हामीलाई के भन्लान् ?’ उनले भने ।

डा. राउतले एकीकरणमा ढिलाइ नभएको र प्रक्रिया जारी रहेको उल्लेख गर्दै वैशाख १७ गते औपचारिक घोषणा हुने सम्भावना रहेको जनाए । ‘दुई शक्ति एक भएपछि जनताको अधिकार प्राप्तिमा बल पुग्छ,’ उनले जोड दिए ।

प्रकाशित : २०८२ बैशाख ११, बिहीबार ०६:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ