सिरहामा सलहेश महोत्सव गर्न प्रशासनबाटै अबरोध, सिडिओले भन्यो- शान्ति सुरक्षा दिन सकिदैन


सिरहा । सिरहा सदरमुकामस्थित श्री सुसमोयाब क्याम्पसमा ‘सलहेश महोत्सव’को आयोजना गर्ने तयारी भइरहँदा प्रशासनबाटै अबरोध भएको छ ।

महोत्सवका लागि सिद्धबाबा एविजसन काठमाडौंसंग सलहेस युवा क्लव सिरहाले सम्झौता गरिसकेको छ । सम्झौता
अनुसार क्याम्पस सिरहामा वैशाख २६ देखि जेष्ठ १६ गतेसम्म महोत्सव आयोजना हुनेछ ।

क्लवलाई महोत्सवका लागि सिरहा क्याम्पसले पनि दिइसकेको छ। क्याम्पस प्रमुख राजेश्वर प्रसाद यादवले अध्ययन-अध्यापन, परीक्षालगायत कुनै पनि काममा अबरोध नपुर्याउने गरी महोत्सव गर्न मैदान उपलब्ध गराउने सहमती वैशाख ११ मा दिएका छन् ।

तर प्रशासनले शान्ति सुरक्षा दिन असमर्थ बनेपछि महोत्सवको तयारीमा अबरोध खडा भएको हो ।

महोत्सवको आयोजक क्लवका पदाधिकारीहरुले शान्ति सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालसंग छलफल गरेका छन् । छलफलका क्रममा प्रजिअ अर्यालले शान्ति सुरक्षा दिन नसक्ने बताएको क्लवका अध्यक्ष राजिप यादवले बताए ।

उनले भने, ‘हामीले प्राचीन सलहेश महोत्सवलाई भव्य रुपमा आयोजना गर्ने तयारीमा जुटिरहेका छौं । तर सिडिओ साहेव शान्ति सुरक्षा दिन नसक्ने भनेर सिधा इन्कार गर्नुभयो । प्रशासन नै बाधक बन्नु दु:खद् हो ।’ प्रशासनले लिखित रुपमै शान्ति सुरक्षा दिन नसक्ने पत्र काटेको उनको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले महोत्सव आयोजना गर्ने समय अनुकूल नरहेको सिरहा नगरपालिकालाई पत्राचार गरेका छन् । पत्रमा भनिएको छ, ‘…महोत्सव आयोजना गर्नका लागि अनुमति माग गरिएकोमा हालको अवस्थालाई विश्लेषण गर्दा अनुकूल समय नभएको भनी सुरक्षा निकायको छलफलको निष्कर्ष रहेकोले अनुमति दिन नसकिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’

सिरहाको व्यापार व्यवसाय तथा स्थानीय उत्पादनहरुको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागेका छौं,’ स्थानीय यूवा रविन्द्र साहले भने, ‘तर प्रशासनले नै बाधा खडा गरेपछि दु:ख लागेको छ।’ सिडियोले शान्ति सुरक्षा कायम गर्न नसकेको भनेर आफ्नै असक्षमता प्रदर्शन गरेको उनले टिप्पणी गरे ।

उनले महोत्सवका लागि प्रशासनबाट रचनात्मक सहयोगको अपेक्षा राखेको बताए । ‘महोत्सव भाड्न मिल्दैन्, अझै समय छ । यदि शान्ति सुरक्षा दिन सक्दैनन् भने हामी सिडिओविरुद्ध आन्दोलन गर्छौं,’ उनले चेतावनी दिए ।

प्रकाशित : २०८२ बैशाख १८, बिहीबार २०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ