सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि….


काठमाडौँ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सहिद परिवारका सदस्यलाई मन्त्रालयमा हप्काएपछि उनीहरू आन्दोलित भएका छन् ।

सहिद परिवारका केही सदस्यहरू आइतबार बिहान १० बजे मधेस सरकारसँग आफ्ना माग लिएर मन्त्रालय पुगेका बेला मन्त्री लेखीले हप्काएका थिए ।

गृहमन्त्री लेखीले आफूहरूलाई गाली गर्दै हप्काएर मन्त्रालयबाट निकालेको मधेस सहिद प्रतिष्ठानका सदस्य अवधेश यादवले बताए । गाली गर्दै मन्त्रालयबाट हप्काएर पठाएपछि मन्त्रालयको अगाडि आफूहरू अनसन बसेको उनले बताए ।

उनले भने, ‘एक त हाम्रो माग पुरा गर्दैनन्, माग पुरा गराउनका लागि मन्त्रालयमा गएपछि उल्टै अपमानित तरिकाले त्यहाँबाट निकाल्नु भयो । के मेरो चार वर्षको छोराले यसैका लागि सहादत दिएका थिए त, मधेस सरकारले हामी सहिद परिवारलाई पटक पटक अपमानित गरिरहेको छ ।’

अहिले मधेस सहिद प्रतिष्ठानमा दुई जना सदस्य खाली छन् । सो सङ्गठनमा सहिद परिवारबाटै सदस्य राख्नका लागि केही महिनादेखि उनीहरूले मधेस सरकारलाई आग्रह गर्दै आइरहेका छन् ।

तर सरकारले भने आफूहरूको प्रस्ताव टार्दै आएको उनले गुनासो गरे । सरकारसमक्ष नियुक्तिका लागि निर्णयसहित निवेदन दिएको समेत उनले बताए ।

‘ती दुवै पद सहिद परिवारका सदस्यका लागि नै हो, तैपनि मधेस सरकारले सो पद दिनका लागि आनाकानी गरिरहेको छ’ उनले गुनासो गरे । यस विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि जानकारी गराइसकिएको उनले बताए ।

मुख्यमन्त्रीलाई पनि यसका बारेमा सबै जानकारी रहेको यादवले बताए । ‘मुख्यमन्त्री सिंहसँग भेट्दा उनले एक दुई दिनमै गर्ने भनेको १५ दिनभन्दा बढी भइसक्यो तर अहिले त्यस विषयमा कुरा गर्नका लागि भेट्न समेत चाहँदैनन्’ यादवले गुनासो गरे ।

उनले भने, ‘आजै जनमत पार्टीका अध्यक्ष सिके राउतसँग यस विषयमा कुरा गरेको उहाँले बुझेर खबर गर्छु भन्नुभयो तर अहिलेसम्म कुनै खबर गर्नुभएको छैन ।’

यसअघि सहिद परिवारका सदस्य ५१ जनाले जागिरका लागि निवेदन दिए पनि २६ जनालाई मात्र जागिर दिइएको उनीहरूको गुनासो छ । ‘त्यसमध्ये पनि अहिले १०–१२ जना मात्र कार्यरत छन् । उनीहरूको पनि जागिर सुरक्षित छैन, उनीहरूलाई पनि जागिरबाट निकालिदिन्छन् भन्ने चिन्ता हामीलाई लागिरहेको छ’ यादवले भने ।

उनीहरू मधेस सहिद प्रतिष्ठानको रिक्त पदमा नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका छन् । उनले माग पुरा नभएसम्म फर्केर नजाने समेत चेतावनी दिए । – रातोपाटी

प्रकाशित : २०८२ बैशाख २१, आईतवार १९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ