अनौठो घटना- सडकमा भासिएको गाडी भेटेन, भुगर्भविदले खोज्न सुरु गरे


काठमाडौं । गत शुक्रबार जमिनमुनि भासिएर हराएको गाडीको विषयमा अध्ययन गर्न खानी तथा भुगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ।

मंगलबार बिहान हेटौडा आइपुगेको टोलीले काम थालेको हो । टोलीले घटना स्थलको भु–बनोट भुमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्नेछ । खानी तथा भुगर्भ विभागबाट चार जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो ।

विभागका भुगर्भविद नारायण अधिकारीले घटना स्थलको भौगोलिक अवस्था माटोको सतह र घटनाको कारण बारे तथ्यांकीय अध्ययन गर्ने बताए ।

घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भुमिगत जलको विषयमा अध्ययन गर्ने गरि केही उपकरण प्रयोग गर्ने तयारी रहेको उनले बताए । टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरि चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उनको भनाइ छ ।

म्याग्नेटो मिटरको आधारमा भुगोलको चुम्बकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था डिटेक्क्ट (पत्ता लगाउने) उनले बताए ।

गत शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो ।

ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो ।

लगातार चार दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागी भूगर्भ विद्लाई ल्याएर अध्ययन गर्ने गरि पत्राचार गरेको थियो ।

प्रकाशित : २०८२ बैशाख २३, मंगलवार १०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ