सलहेश फूलवारीमा अम्बेडर पार्क निर्माणविरुद्ध मधेशका मुख्यमन्त्रीलाई ज्ञापन-पत्र, पार्क अन्यत्र सार्न माग


जनकपुरधाम । सिरहाको लहान नगरपालिका १२ स्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलवारी नजिकै निर्माण गर्न लागिएको भिमराव अम्बेडकर पार्क स्थानान्तरण गर्न सलहेश फूलवारी संरक्षण संघर्ष समितिले मधेश सरकारसँग माग गरेको छ ।

समितिका मधेश प्रदेश संयोजक मोहन पासवान नेतृत्वको टोलीले मधेश भवन पुगेर मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन–पत्र बुझाएर यस्तो माग गरेको हो । मुख्यमन्त्रीलाई समितिले बुझाइएको ज्ञापनपत्रमा सलहेश फूलवारीसँगै निर्माण गर्न लागिएको अम्बेडर पार्क सर्वस्वीकार्य ठाउँमा कम्तिमा १० कट्ठा बढी जग्गामा स्थानान्तरण गर्नुपनेसहितका ९ बुँदै माग राखेको छ ।

सलहेश फूलवारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्न लागेको छ । जीतेन्द्र सिंह धामीले दान दिएको जग्गामा अम्बेडक्र पार्क निर्माण गर्न मधेश सरकार ८० लाख बजेट दिएको छ । पार्कको शिलान्यास मधेशका मुख्यमन्त्री सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले वैशाख १५ मा गरेका थिए ।

अम्बेडकर पार्कको शिलान्यास भएपछि विरोध सुरु भयो । राजा सलहेशको गाथा र वीरतासँग जोडिएको ऐतिहासिक तथा धार्मिक सलहेश फुलवारीको इतिहास मेट्न षड्यन्त्र गरेको भन्दै पार्क निर्माणको विरोध पासवान समूदायले गरे । राजा सलहेश पासवान समूदायको कुल देवता हो । त्यसैले सो समूदाय सलहेश फूलवारीको संरक्षण गर्न समिति बनाएर संगठित बनेको छ ।

समितिले बाबा साहेब डा. भीमराव अम्बेडकरप्रति उच्च सम्मान रहेको उल्लेख गर्दै अम्बेडकरको नाममा देशभर पार्क निर्माण हुनु स्वागतयोग्य रहेपनि सलहेश फुलवारी जस्तो विशिष्ट धार्मिक तथा सांस्कृतिक स्थलमा यस्ता संरचना निर्माण गर्नु असान्दर्भिक र असंवेदनशील भएको ठहर गरेको छ ।

समितिले मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘सलहेश फूलवारी पासवान समुदायको आस्था बोकेको स्थल नजिकै डा. भिमराव अम्बेडर पार्क बनाउनु हाम्रो संवैधानिक हकको हनन भएको हाम्रो ठम्याई छ ।’

समितिले सलहेश फूलवारीमा प्रतिकुल असर पर्ने अन्य कुनै किसिमको निर्माणमा पूर्ण रोक लगाउन र सलहेश फुलवारी, सलहेश अखडा, मानिक दह, पकडियागढ र महिसोथा गढ जोड्नेगरी सलहेश सर्किट निर्माण गर्न माग गरेको छ ।

यस्तै सलहेशसँग जोडिएको सम्पूर्ण अतिक्रमित क्षेत्रलाई स्पष्ट नक्सासहित सिमांकन गरी सरकारी स्वामित्वको रुपमा अभिलेख गर्न र सलहेश क्षेत्र संरक्षण विकास कोष स्थापना गर्न पनि समितिको माग राखेको छ ।

सलहेश फूलवारी क्षेत्रमा कुनैपनि किसिमको अतिक्रमण वा भावनात्मक हस्तक्षेप स्वीकार्य नहुने समितिले जनाएको छ । समितिले राखेको मागहरु पुरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने र यसबाट उत्पन्न परिस्थ्तििको जिम्मेवारी सरकार हुने चेतावनी समेत दिएको छ ।

प्रकाशित : २०८२ बैशाख २८, आईतवार १७:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ