वीरगञ्जमा जसपा नेपालको खबरदारी सभा, सङ्घर्षका कार्यक्रम सार्वजनिक


वीरगञ्ज । जनता समाजवादी पार्टी, नेपालले हालै गठन गरेको केन्द्रीय परिसङ्घले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ ।

विरगञ्जको टाउन हलमा शनिबार दिउँसो आयोजित उक्त सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त सङ्घर्ष गर्ने उद्देश्यले केन्द्रीय परिसङ्घको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो ।

परिसङ्घको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिम र अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित नेतृत्व, संघ(संस्था तथा व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको छ ।

परिसङ्घको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएको ३५ बुँदे अवधारणा पत्र सार्वजनिक गरिएको छ । कार्यक्रममा जसपा नेपालका अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधरणा पत्र प्रस्तुत गरेका हुन् ।

अवधारणा पत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारु, अल्पसङ्ख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ ।

साथै, उत्पीडित समुदायहरूको राष्ट्रिय पहिचानको मान्यता, जनसंख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चित गर्न सङ्घर्ष गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ्ग, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबु राउत, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसङ्घका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेस प्रदेका पूर्व मुख्यमन्त्री सरोज यादवलगायत पार्टीका शीर्ष नेतृत्वको सहभागिता रहेको छ ।

प्रकाशित : २०८२ जेष्ठ ३, शनिबार १८:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ