मधेशको मुख्यमन्त्री कार्यालय अगाडि शहीद परिवारको धर्ना


जनकपुरधाम । जनकपुरधामस्थित मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि मधेश प्रदेशका आठवटै जिल्लाका शहीद परिवारका सदस्यहरू धर्नामा बसेका छन् ।

विभिन्न चारवटा माग राख्दै उनीहरू सोमबार दिउँसोदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् । उनहरूले मधेशी सहीद प्रतिष्ठानमा अविलम्ब सदस्य नियुक्त गर्नुपर्ने, सहीद परिवारका सदस्यहरूका लागि प्रदेश सरकारले घोषणा गरेको स्वास्थ्य बीमा लागू गर्नुपर्ने, एक परिवार एक रोजगारी दिनु पर्ने र शहीद परिवारका छोराछोरीलाई छात्रवृत्ति दिनु पर्ने माग राखेका छन् ।

विगतमा आफ्ना समस्या सुनाउन पटक-पटक गृहमन्त्री राजकुमार लेखी र मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेट्न जाँदा उनीहरूले घण्टौं बसाएर आश्वासन बाहेक अरु केही नदिएको शहीद चन्दन पटेलका पिता अवदेश पटेलले आरोप लगाए ।

उनले शहीद परिवारलाई अहिलेको जनमत पार्टी नेतृत्वको सरकारले कुनै वास्ता नगरेको गुनासो गरे ।

गृहमन्त्री लेखी र मुख्यमन्त्री सिंहले आफूहरूको समस्याको वास्ता नगरे पछि सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेको पटेलले बताए । उनले आफूहरुको माग पूरा नभए सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिए ।

प्रकाशित : २०८२ जेष्ठ २०, मंगलवार १२:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ