मधेशमा योजना खरिदबिक्री– जनमत नेतृत्वको सरकार छानविन गर्न तयार भएन, प्रदेशसभा अवरुद्ध !


जनकपुरधाम । झण्डै दुई महिनापछि आज बसेको मधेश प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधले स्थगित भएको छ ।

प्रदेशसभाको पाँचौं अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको थियो, तर बैठक ४ बजे सुरु भयो । सभामुख रामचन्द्र मण्डलले कारबाही सुरु गरेलगत्तै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक नै स्थगित गर्नुपर्‍यो ।

प्रमुख प्रतिपक्षी जसपा नेपालका सचेतक रामआशिष यादवले आर्थिक अनुशासनको खुलेयाम उल्लंघन भएको र सो विषयमा छानबिन समिति गठन गर्ने सहमति भए पनि नगरिएकाले बैठक चल्न नदिने बताए ।

उनले भने, ‘संसदीय छानबिन समिति गठन भएको आज एक महिना २४ दिन बित्यो । प्रतिपक्षी दलले नामसमेत दिइसकेको छ, तर सत्तापक्षले नाम अझै दिएको छैन । सरकार नै चाहन्छ भ्रष्टाचार होस् ।’

छानबिन समिति गठन नभएसम्म प्रतिपक्षी दलले सदन अवरुद्ध पार्ने उनको भनाइ छ ।

सभामुख मण्डलले तीन घण्टा लगाएर छलफल गरे पनि सहमति नजुटेको भन्दै बैठक स्थगित गरिएको जानकारी गराए । उनका अनुसार अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : २०८२ जेष्ठ २१, बुधबार १७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ