क्यान्सर पीडित व्यवसायी साहको निधन


सिरहा । सर्लाही बरहथवा नपा १२, श्रीपुरका शत्रुधन साहको श्रीमती ३४ वर्षीया नगिना कुमारी साहको क्यान्सरबाट निधन भएको छ । दुईवटा छोरा र एक छोरी सहित साह परिवार करिब १५ वर्षदेखि सिन्धुली गोलन्जर गापा -५, खन्याखर्क(गढी)मा होटल व्यवसायी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

गएको माघमा साहको एक्कासी पेट दुखेपछि उपचारको लागि धुलिखेल अस्पताल लगियो । त्यहाँ एउटा किड्नीमा ६ एमएमको पथरी देखियो । डाक्टरले एक महिनाको ओषधी दिएर पठायो । फाल्गुन एक गते बोलाएको मितिमा पथरीको अपरेसन गरियो । डिस्चार्जपछि पन्द्र दिनमा धुलिखेल अस्पतालले फ्लोपमा बोलाएको थियो । पन्द्र दिनमा त्यहाँ पुगेपछि शरीरमा रहेको पाइपहरु निकालियो । तर साहको पेट दुखाई कम भएन ।

शत्रुधन भन्छन्,´त्यसपछि थप उपचारका लागि काठमाडौंको त्रिपुरेश्वरमा रहेको ब्लुक्रस अस्पतालमा लगियो ।` त्यहाँ थप जाँचहरु गरियो । जाँच भएपछि आन्द्रामा क्यान्सर देखियो । क्यान्सर देखिएपछि भक्तपुर क्यान्सर अस्पताल रेफर गरियो । भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरेपछि त्यहाँ पनि थप जाँचहरु भयो । करिब एक महिना १९ दिनपछि डाक्टरले दुई वर्ष पुरानो आन्द्राको क्यान्सर रहेकोले अहिले किड्नी र कलेजोमा समेत फैलिसकेकाले उपचार सम्भव नहुने भनेर डिस्चार्ज गरियो ।

शत्रुधन भावुक हुँदै भन्छन्, घर आएको २४ घण्टा नबित्दै राति करिब दुई बजे प्राण त्याग गर्नुभयो । अब मेरो सारा व्यापार व्यवसायी खतम हुने भयो । ससाना बालबच्चा छन्, जन्मदिने आमाबिनाको जिन्दगी उनीहरूको कसरी समाल्नु ? दुई वर्ष पुरानो क्यान्सरको उपचार नभई ६ एमएमको पथरीको अपरेसन कसरी भयो ? जाँचपड्पालमा कमी भएर पथरीको अपरेसन गर्दा क्यान्सर छिटो फैलिएर श्रीमती मृत्युको शिकार भयो कि बुझ्नै गाह्रो छ हजुर ।

प्रकाशित : २०८२ जेष्ठ २२, बिहीबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ