मधेश प्रदेशमा ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दिप जलाऊ’ कार्यक्रम घोषणा


जनकपुरधाम । मधेश प्रदेश सरकारले ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दिप जलाऊ’ कार्यक्रम घोषणा गरेको छ ।

मधेश प्रदेश प्रमुख सुमित्रा भणडारीले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दिप जलाऊ’ कार्यक्रमको घोषणा गरेकी हुन् ।

उनले गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न ‘बच्चाके स्कूल पठाऊ, साक्षरताके दिप जलाऊ’ नारालाई आत्मसात गर्दै साक्षरता अभियानको कार्यक्रम अगाडी बढाइने बताइन् ।

मधेशमा अघिल्लो जसपा नेपाल नेतृत्वको सरकारले महत्वाकांक्षी ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाएको थियो । तर उक्त कार्यक्रममा भ्रष्टाचार भएपछि अहिले अलपत्र अवस्थामा छ ।

मधेशमा अहिले जनमत पार्टी नेतृत्वको सरकार छ । वर्तमान सरकारले अघिल्लो सरकारकै कार्यक्रमलाई नयाँ स्वरुप दिन खोजेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशप्रमुख भण्डारीले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमको मुल्यांकन र अनुगमन पश्चात निरन्तरता दिइने उल्लेख गरिन् ।

सरकारले आत्मनिर्भर र समृद्ध मधेश, सुखी मधेशी मूल सोचलाई केन्द्रमा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याएको छ । कृषिलाई मेरुदण्डको रुपमा स्वीकार गर्दै खाद्यान्यमा आत्मनिर्भर बनाउन मधेशले देशलाई खुवाउने अभियानलाई केन्द्रमा राखि ‘उत्पादन मधेशमा, विस्तार देशमा’ नारालाई आत्मसात गर्दै कृषि उत्पादन बढाउने लक्ष्य राखेको छ ।

मधेश सरकारले मखान खेतीलाई पनि प्राथमिकतामा राखेको छ । आगामी आवको नीति तथा कार्यक्रम मार्फत् ‘मधेशको सान, स्थानीय मखान’ नारा दिदै मखान खेतीको विकास र विस्तार योजना ल्याएको छ । मखानको उत्पादन, प्रशोधन, लेवलिङ र ब्राण्डिङ गर्ने लक्ष्य लिइएको प्रदेशप्रमुख भण्डारीले उल्लेख गरेकी छन् ।

यस्तै सरकारले नीति तथा कार्यक्रममा आँपको बगैंचा, मधेशको समृद्धि नारालाई आत्मसात गर्दै मधेशका आठवटै जिल्लामा आँप बगैंचा विस्तारको योजना पनि समेटेको छ ।

मधेशलाई सिंचाईमा आत्मनिर्भर बनाउन ’खेतखेतमा पानी, घर घरमा खाद्यान्न’ नारा दिएको छ । ‘हर हातमे शिप, घर घरमे रोजगार, समृद्ध मधेशके आधार’ अन्तर्गत पहिलो चरणमा एक लाख रोजगारीको अवधारणालाई अगाडी बढाइने पनि घोषणा गरिएको छ ।

LIVE

प्रकाशित : २०८२ जेष्ठ २३, शुक्रबार १७:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ