मधेशका मुख्यमन्त्रीलाई समानुपातिक सांसदहरुको ज्ञापनपत्र, बजेटमा विभेद नगर्न आग्रह


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई समानुपातिक सांसदहरुले आगामी आर्थिक वर्षको बजेट वितरणमा विभेद नगर्न आग्रह गरेका छन् ।

समानुपातिक सांसदहरुको टोलीले मुख्यमन्त्री सिंहलाई आज ज्ञापनपत्र बुझाउँदै प्रत्यक्ष निर्वाचित साँसद जति आफूहरुलाई पनि बजेट उपलब्ध गराउन माग गरेका हुन् । बजेट तथा योजना वितरणमा विभेद नगर्न सबै पार्टीका समानुपातिक साँसदहरु मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जसपा नेपालकी साँसद ललिता विद्रोहीले जानकारी दिइन् ।

मधेश प्रदेशमा ६४ निर्वाचित र ४३ समानुपातिक साँसद छन् । चालु आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित साँसदलाई ५ करोड र समानुपातिक साँसदलाई मात्र डेढ करोड बराबरको योजना दिइएको छ ।

साँसद विद्रोहीले भनिन्, ‘संविधानले प्रत्यक्ष र समानुपातिक साँसदलाई बराबरको अधिकार दिएको छ । तर बजेटको कुरा आउँदा समान ढंगले वितरण गरिदैन । यस्तो विभेद अन्त्य हुनुपर्छ ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा समानुपातिक र प्रत्यक्ष साँसदहरुलाई समान ढंगले योजना वितरण नगरिए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइन् ।

प्रकाशित : २०८२ जेष्ठ २३, शुक्रबार १८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ