उदयपुरमा ४० डिग्री गर्मी- हिँड्दाहिँड्दै ढलेका व्यक्तिको मृत्यु !


गाइघाट । उदयपुरमा तापक्रम ४० डिग्री सेल्सियस पुगेर जनजीवन कष्टकर बनेका बेला एक व्यक्तिको बाटोमा हिँड्दाहिँड्दै ढलेर मृत्यु भएको छ।

त्रियुगा नगरपालिका २, खैजनपुरका ४५ वर्षीय विर्खबहादुर सार्की नेपालीको बुधबार दिउँसो मृत्यु भएको हो। प्रचण्ड गर्मीकै बीचमा घटना भएकाले स्थानीयले उनको मृत्यु ‘लु’ ९हिट स्ट्रोक० का कारण भएको हुनसक्ने आशंका गरेका छन्।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार, दिउँसो करिब १ः३० बजे बजारबाट घर फर्कंदै गरेका सार्की बाटोमै एक्कासि ढलेका थिए। स्थानीयले तत्काल उद्धार गर्न खोज्दा उनको मृत्यु भइसकेको थियो।

मृत्युको यकिन कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने भएकाले प्रहरीले शवलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी गरेको छ। स्थानीयका अनुसार मृतकले मादक पदार्थ सेवन गरेका थिएनन्। जसकारण गर्मीकै कारण बेहोस भएर उनको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ।

पछिल्लो एक सातादेखि उदयपुरमा गर्मी निरन्तर बढिरहेको छ। साताअघि भएको वर्षापछि एक्कासि बढेको तापक्रम ४० डिग्रीभन्दा तल झरेको छैन। दिउँसोको समयमा पनि बजार र सडक सुनसान हुन थालेका छन्।

प्रचण्ड गर्मीसँगै दिनमा दर्जनौँ पटक हुने अनियमित विद्युत कटौतीले स्थानीयको समस्यालाई झनै जटिल बनाएको छ। गर्मीबाट राहत दिने पंखा र एयर कन्डिसनरसमेत चलाउन नपाउँदा बालबालिका र ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित बनेका छन् ।

नेपाल विद्युत प्राधिकरण, उदयपुर वितरण केन्द्रले भने बढ्दो माग र पुराना पूर्वाधारका कारण विद्युत आपूर्तिमा समस्या आएको जनाएको छ।

केन्द्रका प्रमुख माधवप्रसाद यादवका अनुसार गर्मी बढेसँगै एयर कन्डिसनरको प्रयोग बढेकाले पुराना ट्रान्सफर्मरले भार थेग्न नसकी विद्युत आफैँ काटिने गरेको छ। पुराना तार र ट्रान्सफर्मर फेर्ने काम भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : २०८२ जेष्ठ २८, बुधबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ