देशभर मनसुन सक्रिय, यी स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । शुक्रबारदेखि देशभर मनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षासँगै बाढी आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशभर सक्रिय भएको हो । मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा दिनभरजसो पानी परेको छ । दिनभरको वर्षाले धोविखोलामा बाढी आउँदा करिडोरका केही क्षेत्र डुबानमा परेका छन् ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित : २०८२ असार ७, शनिबार ०७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ